जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आन्दोलनको क्रममा मुलुकमा बढ्दो भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै गुरुङले भने, “जो जोले गोली हाने, म उनीहरूलाई एक जनालाई पनि छाड्दिन । हरेक भ्रष्टाचारीको घरघरबाट एक–एक रुपैयाँ निकाल्नेछु। विश्वले थाहा पाओस् नेपाल कसरी बन्छ ।”
उनले आन्दोलनमा घाइते भएका नागरिकको पीडालाई उल्लेख गर्दै न्याय नदिई पछि नहट्ने बताए। गुरुङले भ्रष्टाचार र राजनीतिक विफलताले मुलुकलाई सताएको भन्दै प्रश्न उठाए, “यति सुन्दर देश किन यो अवस्थामा पुग्यो ? भाइबहिनीहरू विदेश गएकै छन्, के नेपाललाई वृद्धाश्रम बनाउने ?”
गुरुङले दलहरूको विभाजनकारी राजनीतिप्रति आक्रोश व्यक्त गर्दै जेनजी आन्दोलनलाई राष्ट्र निर्माणको ऐतिहासिक अवसरको रूपमा लिँदै भ्रष्टाचारमाथि दृढ कदम चाल्ने दोहोर्याए । उनले सबै पक्षलाई एकजुट भएर देश निर्माणतर्फ अगाडि बढ्न आह्वान पनि गरे ।