काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोग समयमै निर्वाचन सम्पन्न गराउन पूर्ण तयारी भएको बताएका छन् ।
बिहीबार नवनियुक्त गृह, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै भण्डारीले आयोगलाई कामबाट पन्छिने छुट नभएको उल्लेख गर्दै आफ्नो निष्ठामा कसैले प्रश्न उठाउन नपाउने प्रतिबद्धता व्यक्त गरे ।
भण्डारीले शान्ति सुरक्षाबिना निर्वाचन सम्पन्न गर्न नसकिने भन्दै सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गर्न जरुरी रहेको बताए । उनले कानुनबमोजिम दर्ता भएका सबै राजनीतिक दलहरूलाई सहभागी गराउने र स्वतन्त्र उम्मेदवारहरूलाई पनि बिना अवरोध प्रचार प्रसार गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
भण्डारीले भने, “काम गर्नबाट पन्छिने छुट हामी कसैलाई छैन । निर्वाचन आयोग समयमै निर्वाचन सम्पन्न गर्न तयार छ । त्यसका लागि पूर्वतयारी सुरु गरिसकेका छौँ । सबै जिल्ला र प्रदेश निर्वाचन कार्यालयमा तयारी पूरा भइसकेको छ । पूर्ण प्रतिस्पर्धात्मक रूपमा निर्वाचन सामग्री खरिद गर्न सक्यौँ भने स्वच्छ, निष्पक्ष, भयरहित र मितव्ययी निर्वाचन गर्न सकिन्छ । मुलुकमा शान्ति सुरक्षाको अवस्था बिग्रिएको छ । कतिपय सुरक्षाकर्मी बस्ने भवन छैनन् र प्रमुख जिल्ला अधिकारीको कार्यालय क्षतिग्रस्त छ ।”
उनले भने, सरकारले चाँडै अध्यादेश ल्याएमा कानुनमा रहेका बाधा र अवरोधहरू हटेर मतदाता सङ्कलन लगायतका कार्यसम्पादनमा सहजता आउनेछ ।