वीरगंज | वीरगंज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहमा हाल १७९ चार पाङ्ग्रे सवारीसाधन थन्किएका छन् । भन्सार कार्यालयका अनुसार ती सवारीसाधन भन्सार जाँचपास नभएको कारण रोकिएका हुन् ।
वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो कि एकीकृत जाँचचौकीमा ७५ वटा चार पाङ्ग्रे, र सुक्खा बन्दरगाहमा १०४ वटा चार पाङ्ग्रे सवारीसाधन भन्सार जाँचपास प्रक्रियामा रहेका छन्।
उहाँले भने, “आयातकर्ताले चाडपर्व लक्षित गरेर चार पाङ्ग्रे सवारीसाधनको भन्सार जाँचपास प्रक्रिया अघि बढाउँदै आएका छन् । भन्सारको यार्डमा रहेका सवारीसाधन क्रमशः जाँचपासको प्रक्रियामा अघि बढ्नेछन्।”
भन्सार कार्यालयका अनुसार सुक्खा बन्दरगाहमा रहेका करिब २० वटा सवारीसाधनको भन्सार जाँचपास प्रक्रिया पहिले नै अघि बढिसकेको छ भने एकीकृत जाँचचौकीमा रहेका सवारीसाधनको पनि आवश्यक प्रक्रिया सुरु भइसकेको छ ।
वीरगंज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा करिब रु ७ अर्ब १६ लाख मूल्य बराबरको सवारीसाधन र पार्टपुर्जा आयात भएका छन् । गत आवको सोही अवधिसँग तुलना गर्दा चालु आवको दुई महिनामा रु १ अर्ब ७५ करोड बढी मूल्यका सवारीसाधन र पार्टपुर्जा आयात भएका छन्। गत आवको दुई महिनामा करिब रु ५ अर्ब २५ करोड मूल्यका सवारीसाधन र सामग्री आयात भएको थियो ।