नेपाल राष्ट्र बैंकले डेबिट कार्डमार्फत गरिने नगद कारोबारको सीमा घटाएको छ । केन्द्रीय बैंकले शुक्रबार नयाँ निर्देशन जारी गर्दै एटीएमबाट झिक्न सकिने रकमको सीमा २० देखि ५० प्रतिशतसम्म कटौती गरेको हो ।
नयाँ निर्देशनअनुसार अब डेबिट कार्ड प्रयोगकर्ताले प्रति कारोबार एटीएमबाट अधिकतम २० हजार रुपैयाँ मात्र झिक्न सक्नेछन् । यसअघि यो सीमा २५ हजार रुपैयाँ तोकिएको थियो । त्यसैगरी, दैनिक झिक्न सकिने सीमा एक लाख रुपैयाँबाट घटाएर ५० हजार रुपैयाँ कायम गरिएको छ भने मासिक सीमा पनि ४ लाख रुपैयाँबाट घटाएर ३ लाख रुपैयाँ तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार कारोबार सीमा कटौती विद्युतीय कारोबारको सुरक्षा, नियमन तथा व्यवस्थापन सुदृढ गर्नका लागि गरिएको हो ।
यससँगै, बैंक तथा वित्तीय संस्थाले जारी गर्ने प्रिपेड कार्डको प्रति कारोबार १० हजार, प्रतिदिन २० हजार र प्रति महिना २ लाख रुपैयाँको सीमा भने यथावत् राखिएको छ । त्यस्तै, क्रेडिट कार्ड कारोबार सीमामा पनि कुनै परिवर्तन गरिएको छैन ।
बैंक तथा वित्तीय संस्था बाहेकका सेवा प्रदायक संस्थाले जारी गर्ने प्रिपेड कार्डको प्रति दिन ५ हजार र प्रति महिना २५ हजार रुपैयाँको सीमा पनि यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ ।