प्रतिनिधि सभा विघटनविरुद्ध मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।गरिएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रतिनिधि सभा विघटनसम्बन्धी दुईवटा रिट र अन्तरिम सरकार असंवैधानिक रहेको भन्दै एउटा रिट गरी कुल तीनवटा रिट सर्वोच्चमा दर्ता भएका हुन् ।
प्रवक्ता कोइरालाले रिटहरू अहिले अध्ययनको क्रममा रहेको र अध्ययनपछि बाँकी प्रक्रिया अघि बढाइने जानकारी दिएका छन् ।
गत भदौ २४ गतेको जेन–जी प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी हुँदा करिब ८० प्रतिशत मुद्दाका मिसिल जलेका थिए । त्यस कारण अदालतले सो घटनापछि नयाँ मुद्दा दर्ता गर्न सकेको थिएन ।
पुराना मुद्दा तत्काल अघि बढाउन नसकिएको अवस्थामासमेत सर्वोच्च अदालतले मंगलबारदेखि नयाँ मुद्दा हेर्ने र प्रक्रिया अघि बढाउने तयारी गरेको हो । नयाँ मुद्दा लिन थालेकै पहिलो दिन प्रतिनिधि सभा विघटनविरुद्ध रिट परेको हो ।
भदौ २७ गते सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । प्रधानमन्त्री कार्कीकै सिफारिसमा सोही रात राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए । यही निर्णयविरुद्ध सर्वोच्चमा कानुनी चुनौती दिइएको हो ।