अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश, महोत्तरी क्षेत्र नं. ४(ख) बाट निर्वाचित प्रदेशसभा सदस्य मा. सरोज कुमार सिंह सहित १६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार सिंहले आफ्नो पदको दुरुपयोग गरी विभिन्न उपभोक्ता समितिहरू गठन गरेर ती समितिहरूका खातामा जम्मा भएको रकम आफू र श्रीमती सरिता कुमारी महतो सिंहको नाममा रहेको संयुक्त खातामा झिकाएर राख्ने तथा आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत रकम चलानी गरी घुस–रिसवत लिने कार्य गरेको पाइएको छ ।
अनुसन्धानका क्रममा मधेश प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम (प्रदेश संसदीय विकास कोष) अन्तर्गत आर्थिक वर्ष २०७८/७९ को बजेटबाट महोत्तरी जिल्ला क्षेत्र नं. ४(ख) का रामगोपालपुर नगरपालिका, मनराशिसवा नगरपालिका र सम्सी गाउँपालिकाका विभिन्न वडामा सञ्चालन भएका विकास योजनाका उपभोक्ता समितिहरूको खातामा जम्मा भएको कूल रु. १,३६,२७,४८१ (एक करोड छत्तीस लाख सत्ताईस हजार चार सय एकासी रुपैयाँ) मध्ये सिंहले रु. ३८,५०,३१९ (अड्तीस लाख पचास हजार तीन सय उन्नाइस रुपैयाँ) अर्थात् औसत २८.२५ प्रतिशत कमिसनका रूपमा लिई घुस–रिसवतका रूपमा प्रयोग गरेको प्रमाण फेला परेको आयोगले जनाएको छ ।
आयोगका अनुसार सिंहले रकम आफ्नै र श्रीमतीको संयुक्त खाता (नं. १२९२०००७२२१, लक्ष्मी सनराइज बैंक) मा जम्मा गरी प्रयोगमा ल्याएको प्रमाणसहित पुष्टि भएपछि विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
यस प्रकरणमा सरोज कुमार सिंहसँगै रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवी समेतलाई समेत प्रतिवादी बनाइएको छ ।
आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसूरमा दोषी ठहर गरी सजाय माग गर्दै आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार उक्त प्रकरणमा सम्बन्धित रकमको Flow Chart र बैंक कारोबारका सबै प्रमाणहरू पनि विशेष अदालतमा पेश गरिएको छ ।