वीरगंज | सङ्घीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहको नेतृत्वमा जेन–जी युवा तथा सरोकारवालाहरूको टोलीले बिहीबार मन्त्रालयमा भेट गरी खेलकुद पूर्वाधार विकास र क्रिकेटको समग्र उन्नतिको विषयमा विस्तृत छलफल गरेको छ ।
छलफलमा अध्यक्ष सिंहले वीरगञ्जस्थित नारायणी रङ्गशालासँग जोडिएको टिबी साह क्रिकेट मैदानको स्तरोन्नतिको आवश्यकता औँल्याउँदै मैदान खेलाडीहरूको अभ्यास केन्द्र भएकाले यसको विस्तार र मुआब्जा प्रक्रिया छिटो टुंग्याउन आग्रह गरे ।
उनले नारायणी रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको खेलमैदानका रूपमा विकास गर्ने, ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मधेस प्रदेशमा सफलतापूर्वक आयोजना गर्न आवश्यक पूर्वाधार तयार पार्ने, विद्यालयस्तरमा खेल प्रशिक्षक नियुक्त गर्ने, खेलाडीहरूका लागि पोषणयुक्त आहारको व्यवस्था गर्ने तथा आदर्शनगर रङ्गशालाको स्तरोन्नति गर्ने प्रस्ताव पनि राखेका थिए ।
मन्त्री गुप्ताले सिंह र टोलीका मागहरूलाई जायज ठहर गर्दै सबै विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाए। उनले भने, “टिबी साह मैदानको मुआब्जा प्रक्रिया छिट्टै टुङ्ग्याएर काम सुरु गर्छौँ र नारायणी रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरमा पु-याउने योजना अघि बढाउँछौँ।” साथै, विद्यालयस्तरमा खेल प्रशिक्षक र खेलाडीहरूको पोषण व्यवस्थालाई पनि प्राथमिकतामा राखिने बताए ।
छलफलमा सहभागी जेन–जी युवाहरूले मन्त्री गुप्ताको प्रतिबद्धताले मधेस प्रदेशको खेलकुद क्षेत्रमा नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गरे। टोलीमा रोमी खान, विनय गिरी, विक्की सर्राफ, सुशान्त साह, रोहित साह, सुमित गुप्ता, मुर्तुजा हावारी र रजत पाण्डे सहभागी थिए ।