बारा । २०औँ अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा नया कदम नेपाल संस्थाद्वारा बारा जिल्लाको बरेवा–कलैयास्थित दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत बहीरा विद्यार्थीलाई खाजा र शैक्षिक सामग्री वितरण गरिएको छ । समावेशी शिक्षा प्रवर्द्धन, सामाजिक उत्तरदायित्व र अपांगता भएका बालबालिकाका अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ सम्पन्न यो कार्यक्रम विद्यालय र स्थानीय समुदाय दुवैका लागि प्रेरणादायी बनेको छ ।
कार्यक्रमको अध्यक्षता नया कदम नेपालका अध्यक्ष रञ्जित पाण्डेयले गर्नुभयो । उहाँले अपांगता भएका विद्यार्थीलाई समान अवसर, सम्मान र आत्मविश्वास प्रदान गर्न समाजका सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो। “अपांगता कमजोरी होइन, क्षमताको अर्को माध्यम हो । हामीले बनाउने समाज समान अवसरमा आधारित हुनुपर्छ,” अध्यक्ष पाण्डेयले भने ।
विशिष्ट अतिथिका रूपमा प्रभाकर मिश्र, पावन यादव, बिहारी महतो लगायतका सामाजिक अभियन्ताहरू उपस्थित थिए। उनीहरूले बहीरा विद्यार्थीहरूको हकहित र विकासका लागि नया कदम नेपालले सञ्चालन गरेको पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक धारणा निर्माण गर्ने बताए । साथै, विकलांगता भएका बालबालिकाको शैक्षिक तथा व्यक्तिगत विकासमा निरन्तर सहयोग आवश्यक रहेको औँल्याए ।
कार्यक्रमको सञ्चालन संस्थाकी सचिव अनुराधा अधिकारीले गर्नुभयो । उहाँले समाजका प्रत्येक नागरिकले अपांगता भएका व्यक्तिहरूप्रति संवेदनशील र सहानुभूतिपूर्ण दृष्टिकोण राख्दै समावेशी वातावरण निर्माणमा योगदान पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
नया कदम नेपालले विगतदेखि नै अपांगता भएका व्यक्तिका अधिकार, शिक्षा, स्वास्थ्य र सीप विकासका क्षेत्रमा निरन्तर सक्रिय भूमिका निभाउँदै आएको छ । आजको कार्यक्रमले बहीरा विद्यार्थीको शैक्षिक यात्रा मात्र सुधार गरेको छैन, अपांगता भएका व्यक्तिहरूलाई सम्मानपूर्वक सम्बोधन गर्ने समाज निर्माणतर्फ पनि महत्वपूर्ण योगदान पुर्याएको मानिएको छ ।