वीरगञ्ज – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा वीरगञ्ज नाका हुँदै ४८ अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार यस अवधिमा सबैभन्दा बढी भटमासको प्रशोधित तेल निर्यात भएको छ। कुल २५ अर्ब ४२ करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको जनाइएको छ ।
यसैगरी, ३ अर्ब ४८ करोड रुपैयाँ बराबरको फलफूलको जुस र ३ अर्ब ५५ करोड रुपैयाँ बराबरको सूर्यमुखीको प्रशोधित तेल पनि निर्यात गरिएको छ ।
त्यस्तै, २ अर्ब २५ करोड रुपैयाँ बराबरको प्रशोधित पाम तेल तथा १ अर्ब ७८ करोड रुपैयाँ बराबरका विभिन्न किसिमका कपडा पनि निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका अनुसार प्रशोधित खाद्य तेल, जुस तथा कपडाको निर्यातले मुलुकको व्यापार घाटा घटाउन सहयोग पुगेको छ ।