राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुन सकेन।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको उक्त रिट पहिलो नम्बरमा पेसी सूचीमा रहेको थियो। तर, न्यायाधीश ढकालले यसअघि रवि लामिछानेसम्बन्धी मुद्दामा आदेश दिइसकेको कारण देखाउँदै सो मुद्दा हेर्न अस्वीकार गरेपछि सुनुवाइ स्थगित भएको हो।
इजलासमा न्यायाधीश ढकालले यसअघि सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा धरौटीमा छाड्न नमिल्ने आदेश दिएको उल्लेख गर्दै पुनः त्यही विषयसँग सम्बन्धित मुद्दा हेर्दा विवाद उत्पन्न हुन सक्ने बताए ।
न्यायाधीश ढकालले मुद्दा नहेरेपछि अब उक्त रिटको सुनुवाइ माघ ११ गतेका लागि तोकिएको रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिएका छन् ।
यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ मागेको थियो । जवाफ प्राप्त भएपछि सर्वोच्चले पेसी तोकेर सुनुवाइ प्रक्रिया अघि बढाएको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले दायर गरेको रिटमा महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई ‘प्रथम दृष्टिमै गैरकानुनी, बदनियतपूर्ण र स्वेच्छाचारी’ भन्दै बदर गर्न माग गरिएको छ ।
महान्यायाधिवक्ता सविता भण्डारीले २०८२ पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौँ, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दामा ‘सङ्गठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’को अभियोग कायम नरहने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन् ।
रिटमा उक्त निर्णयलाई व्यवहारतः ‘मुद्दा फिर्ता’ सरह भएको दाबी गर्दै मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ को दुरुपयोग गरिएको उल्लेख गरिएको छ । साथै, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन दफा ११६ ले रोक लगाएको अवस्थामा पनि निर्णय गरिएको भन्दै कानुनको कपटपूर्ण प्रयोग भएको जिकिर गरिएको छ ।
रिट निवेदकहरूले गम्भीर आर्थिक अपराधमा उन्मुक्ति दिँदा नेपाल अन्तर्राष्ट्रिय वित्तीय कारबाही कार्यदल (FATF) को कालोसूचीमा पर्न सक्ने जोखिम रहेको र यसले मुलुकलाई अपूरणीय क्षति पुग्ने चेतावनी दिएका छन् । साथै, हजारौँ बचतकर्ताको न्याय पाउने अधिकार कुण्ठित हुने तर्कसमेत गरिएको छ ।