शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजबाट आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ ।
तत्कालीन विषम परिस्थितिमा देशमा शान्ति–सुरक्षा कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको रक्षा गर्ने उद्देश्यले विसं २०५७ माघ ९ गते सशस्त्र प्रहरी बलको विधिवत् स्थापना गरिएको थियो ।
तत्कालीन गृहसचिव खेमराज रेग्मीको संयोजकत्वमा गठित ‘सशस्त्र प्रहरी सेवा गठन सुझाव कार्यदल–२०५६’ को सिफारिसअनुसार त्यसबेलाका राजा वीरेन्द्र शाहबाट ‘सशस्त्र प्रहरी अध्यादेश, २०५७’ जारी भएसँगै सशस्त्र प्रहरी बलको गठन भएको हो ।
यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आज सशस्त्र प्रहरी मुख्यालय हलचोकमा रजत महोत्सव विशेष समारोह आयोजना गरिएको छ ।
सुरुआती चरणमा नेपाली सेना र नेपाल प्रहरीबाट जनशक्ति स्थानान्तरण गरी सशस्त्र प्रहरी बल गठन गरिएको थियो । स्थापना पश्चात् महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परिसरमा प्रधान कार्यालय स्थापना गरिएको थियो ।
संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ सशस्त्र प्रहरीका पहिलो प्रमुख थिए । उनले विसं २०५९ माघ १२ गते प्रातःकालीन भ्रमणका क्रममा भएको गोली प्रहारबाट वीरगति प्राप्त गरेका थिए । उक्त घटनामा उनकी धर्मपत्नी नुडुप श्रेष्ठ र अङ्गरक्षक सूर्यप्रसाद रेग्मीले समेत सहादत प्राप्त गरेका थिए ।
तत्कालीन सरकारले सशस्त्र प्रहरीलाई सशस्त्र विद्रोह, आतङ्ककारी गतिविधि, पृथकतावादी गतिविधि नियन्त्रणलगायत १३ वटा कार्यादेश दिएको थियो । पछिल्ला वर्षहरूमा राजस्व, भन्सार, औद्योगिक तथा रेल्वे सुरक्षाजस्ता थप जिम्मेवारी पनि प्रदान गरिएको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता तथा नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार २५ वर्षे यात्रामा संगठनले संरचनागत विस्तार, तालिम, जनशक्ति विकास र फौजी अनुशासनमा विशेष जोड दिँदै आएको छ ।
हाल सशस्त्र प्रहरीले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व सहायता तथा विपद् व्यवस्थापनमा आफूलाई भरपर्दो सुरक्षा संगठनका रूपमा स्थापित गरेको छ ।
विसं २०६१ मङ्सिर १ गतेको निर्णयअनुसार प्रमुख भन्सार नाकाको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीले लिएको हो । साथै, विसं २०६३ फागुन ८ गतेदेखि पूर्ण रूपमा सीमा सुरक्षाको जिम्मेवारी प्राप्त गरेको छ ।
हाल सशस्त्र प्रहरीले सातवटा रिजर्भ गण, ४५ वटा सीमा सुरक्षा कार्यालय र २१५ वटा सीमा चौकी (बिओपी) मार्फत सीमा सुरक्षा तथा राजस्व सङ्कलनमा सहयोग गर्दै आएको छ ।
सीमा क्षेत्रका नागरिकसँग सहकार्य बढाउने उद्देश्यले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसअन्तर्गत विकास निर्माण, स्वास्थ्य शिविर, सचेतना कार्यक्रम तथा सीपमूलक तालिम सञ्चालन हुँदै आएका छन् ।
विपद् व्यवस्थापनमा दक्षता अभिवृद्धि गर्न विसं २०६८ मङ्सिर २२ गते चितवनको कुरिनटारमा विपद् व्यवस्थापन तालिम शिक्षालय र मनाङमा पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरिएको छ ।