लामो समयदेखि विवादित र चोरी निकासीको आरोप लाग्दै आएको सुपारीमा कोटा हटाएपछि चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयातमा उल्लेखनीय वृद्धि देखिएको छ । भन्सार विभागका तथ्याङ्कअनुसार चालु वर्षको ६ महिनामा ३ हजार १६४.२१ मेट्रिक टन सुपारी ६३ करोड ५७ लाख ९४ हजार रुपैयाँ बराबर मूल्यमा आयात भएको छ ।
यो परिमाण अघिल्लो वर्षको सोही अवधिको तुलनामा सामान्य वृद्धि भए पनि, कोटा हटाउने निर्णय अघि भएको आयातको तुलनामा ठुलो वृद्धि हो । आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा ४५ करोड ७८ लाख ४६ हजार रुपैयाँ बराबरको २ हजार ११ मेट्रिक टन सुपारी आयात भएको थियो ।
सरकारले अघिल्लो वर्षदेखि औद्योगिक प्रयोजनका लागि सुपारी आयात खुला गरेको थियो । २०७६ सालमा आयातमा प्रतिबन्ध लगाइए पनि २०७७ सालमा कोटा मार्फत आयात अनुमति खुला गरिएको थियो। २०८१ सालदेखि सुपारी, मरिच र केराउ आयातमा रहेको कोटा पूर्णरूपमा हटाइएको थियो ।
सुपारी आयात मूल्यमा पनि वृद्धि भएको छ । अघिल्लो वर्ष ४१ करोड ७७ लाख ७० हजार रुपैयाँको ३ हजार १६०.९६ मेट्रिक टन सुपारी आयात भएको थियो भने चालु वर्षको ६ महिनामा करिब २२ करोड रुपैयाँ बढी मूल्यमा सुपारी भित्रिएको छ । सो अवधिमा भन्सारबाट करिब ७९ करोड ९४ लाख ४७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
मागअनुसार स्वदेशी उत्पादन पर्याप्त
सुपारी उत्पादक संघका अनुसार नेपालका पूर्वी तराईका पाँच जिल्लामा सुपारी खेती हुने गर्दछ । झापामा २७६५ हेक्टर, मोरङमा ९०५ हेक्टर, सुनसरीमा १४० हेक्टर, इलाममा २०७ हेक्टर र उदयपुरमा ३५ हेक्टरमा व्यावसायिक सुपारी खेती हुने गरेको छ । यी जिल्लामा करिब १५ हजार मेट्रिक टन सुपारी उत्पादन हुने अनुमान छ ।
नेपालका गुट्खा उद्योगले वार्षिक करिब ६–७ हजार मेट्रिक टन सुपारी खपत गर्ने अनुमान छ । अन्य प्रयोजन मिलाएर नेपालमा कुल ८–१० हजार मेट्रिक टन सुपारी आवश्यक पर्छ। त्यसैले नेपालमा उत्पादन पर्याप्त भए पनि औद्योगिक प्रयोजनका लागि आयात भइरहेको भन्छन् सरोकारवाला ।
भन्सार विभागका प्रमुख श्यामप्रसाद भण्डारीका अनुसार आयात गरिएको सुपारी औद्योगिक प्रयोजनमा मात्र प्रयोग भइरहेको छ । “उद्योगीहरूले मात्र सुपारी आयात गर्न पाउने व्यवस्था छ । व्यापारिक प्रयोजनका लागि आयात गर्न पाइँदैन । हामीले चोरी पैठारी र चोरी निकासी रोक्न कडा निगरानी गरिरहेका छौं,” भण्डारीले बताए ।
केराउ आयात बढ्यो, मरिच घट्यो
सरकारले औद्योगिक प्रयोजनका लागि खुलाएको एचएस कोड ०७१३.१०.१० अनुसार केराउको आयात पनि बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा १५८.३२ मेट्रिक टन केराउ आयात भएको छ ।
तर मरिच आयात घटेको छ । चालु वर्षको ६ महिनामा १३ मेट्रिक टन सेतो मरिच र १३ मेट्रिक टन कालो मरिच आयात भएको छ ।
आयात मापदण्ड र नियमन
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगहरूको आवश्यकता र उत्पादन क्षमता सुनिश्चित गरी मात्र सुपारी, केराउ र मरिच आयात खुला गरेको छ । आयात अनुमति पाउन उद्योगहरूले आफ्नो उत्पादन क्षमता, चालु वर्षको उत्पादन लक्ष्य र अघिल्लो वर्षको आयात विवरण प्रस्तुत गर्नुपर्छ । आयात गरिएको सामग्री अन्यत्र बिक्री नगरी औद्योगिक प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने प्रावधान छ ।
सरकारले यस प्रक्रियामा हुन सक्ने दुरुपयोग रोक्न कडा प्रशासनिक प्रक्रिया तय गरेको छ । यसअनुसार प्रत्येक उद्योगले विस्तृत जाँचपछि मात्र आयातका लागि सिफारिस पाउँछ ।