काठमाडौंबाट टर्कीको इस्तानबुलतर्फ उडान भर्नै लागेको टर्किस एयरलायन्सको वाइडबडी विमानमा प्राविधिक समस्या देखिएपछि पुनः पार्किङ वेमा फर्काइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार विमान पार्किङ वेबाट पुसब्याक भई धावनमार्गतर्फ अघि बढिसकेको थियो । टेकअफको तयारीमा धावनमार्गको करिब आधा भागसम्म पुगिसकेपछि पाइलटले इन्जिनमा समस्या महसुस गरेपछि टेकअफ ‘रिजेक्ट’ गरी विमान सुरक्षित रूपमा पुनः पार्किङ वेमा फर्काएका हुन् ।
एयरपोर्ट अपरेसन विभागका निर्देशकसमेत रहेका बस्नेतका अनुसार पार्किङ वेमा फर्काएपछि प्राविधिक टोलीले विमानको विस्तृत प्राविधिक जाँच गरेको थियो । जाँचपछि विमान पुनः उडानका लागि योग्य रहेको प्रतिवेदन प्राप्त भएको छ ।
उक्त विमानमा चालकदलसहित कुल २०६ जना सवार थिए । काठमाडौं–इस्तानबुल उडान एकतर्फी करिब ८ घन्टा लामो रहेको छ । यो मार्ग हुँदै युरोप, अमेरिका तथा क्यानडातर्फ जाने यात्रुहरूको उल्लेख्य आवागमन हुने गर्दछ ।
प्राविधिक समस्याका कारण केही समय ढिलाइ भए पनि यात्रुहरूको सुरक्षा सुनिश्चित गरिएको विमानस्थल प्रशासनले जनाएको छ ।