साहसिक जलयात्राका लागि विश्वकै उत्कृष्ट नदीनालामध्ये सातौं स्थानमा सूचीकृत भोटेकोशी र सुनकोशी नदी क्षेत्रमा हिउँदयाममै पर्यटकको चहलपहल बढेको छ ।
सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापाका अनुसार कठ्याङ्ग्रिदो चिसोका बाबजुद पनि आन्तरिक तथा विदेशी पर्यटक यहाँ र्याफ्टिङका लागि आकर्षित भइरहेका छन् । बिहानदेखि नदीका छालसँग लुकामारी खेल्दै अघि बढ्ने र्याफ्टिङ बोट र साँझ अरनिको राजमार्गसँगै देखिने टेन्ट तथा झिलीमिली रिसोर्टहरूले भोटेकोशी–सुनकोशी क्षेत्रलाई थप आकर्षक बनाएको छ ।
राजधानी काठमाडौंबाट करिब ७० किलोमिटर दूरीमा रहेको यो क्षेत्र हिउँदमा पनि साहसिक पर्यटनको केन्द्र बन्दै गएको छ । हाल नदीजन्य सामग्रीको उत्खनन् कम भएकाले कोठे, बलेफी हुँदै सुकुटेसम्मको नदी स्वाभाविक लयमा फर्किएको व्यवसायीहरू बताउँछन् । यसले साहसिक जलयात्रामा रमाउने पर्यटकको उपस्थिति सहज बनाएको छ ।
यसअघि दैनिक चार सयभन्दा बढी नेपाली तथा विदेशी पर्यटक र्याफ्टिङका लागि आउने गरे पनि हाल चिसो मौसममा पनि प्रतिदिन ५० देखि ६० पर्यटक सुकुटे आउने गरेका छन् । तीमध्ये करिब ३० जनाले नियमित रूपमा र्याफ्टिङ गर्ने गरेका छन् । ‘चिसो मौसम साहसिक जलयात्राका लागि अफ सिजन मानिन्छ, तर पनि र्याफ्टिङ गर्न आउने क्रम रोकिएको छैन,’ अध्यक्ष थापाले बताए ।
हाल सुनकोशी र भोटेकोशी नदी किनारमा र्याफ्टिङसहितका १० भन्दा बढी रिसोर्ट सञ्चालनमा छन् । नेपाल र्याफ्टिङ एसोसिएसनका अनुसार जिल्लाको तटीय क्षेत्रमा मात्रै होटल तथा रिसोर्टको संख्या २० भन्दा बढी पुगेको छ । भूकम्पअगाडि मात्रै कोशी किनारका रिसोर्टमा करिब सात लाख पर्यटक आएको तथ्यांक पनि छ ।
सुकुटे रिभर फन बीच रिसोर्टका पर्यटन व्यवसायी ललित गिरीका अनुसार यहाँ आउने अधिकांश पर्यटकको मुख्य आकर्षण जलयात्रा नै हो । ‘युरोप, अमेरिका लगायतका मुलुकबाट आउने पर्यटकको पहिलो रोजाइ सुनकोशीमा र्याफ्टिङ हुन्छ,’ उनले भने ।
यससँगै माउन्टेन राइड, बन्जी जम्पजस्ता साहसिक खेलले पनि पर्यटकलाई तानेका छन् । पर्यटकीय नगरी सुकुटेमा ‘थ्रिल भ्याली’ नामक क्षेत्रमा ह्यामक केबुलकार, ३६० डिग्री स्वीङ र स्काई साइकलिङ सञ्चालनमा छन् । पर्यटन व्यवसायी महेन्द्र श्रेष्ठ र राजकुमार केसीसँगको सहकार्यमा करिब २ करोड रुपैयाँ लगानीमा यी सेवा सुरु गरिएको थ्रिल भ्यालीका सञ्चालक सम्झना खड्का कार्कीले जानकारी दिइन् ।
उनका अनुसार नयाँ एडभेन्चर टुरिज्म सेवाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
थ्रिल भ्यालीसँगै सुकुटे रिभर फन, माया बीच, रिभर वे, रक रिभरजस्ता दर्जनौं रिसोर्टहरूले पनि नयाँ साहसिक गतिविधि सञ्चालन गर्ने प्रयास गरिरहेका छन् । यद्यपि, अधिकांश रिसोर्टको मुख्य आकर्षण भने जलयात्रा नै रहेको छ ।
नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष शिव अधिकारीका अनुसार अहिले पनि र्याफ्टिङमा आउने पर्यटकको संख्या उत्साहजनक छ ।
यस क्षेत्रमा वार्षिक करिब ६० हजार आन्तरिक र २० हजार विदेशी पर्यटक आउने गरेका छन् । तीमध्ये अधिकांशले साहसिक जलयात्राको अनुभव लिने गरेका छन् । साहसिक पर्यटन र रिसोर्ट व्यवसायमार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब १ हजार जनाले रोजगारी पाएका छन् ।