सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिटमा चार वटा फाइल अर्को सुनुवाइमा पेस गर्न आदेश दिएको छ ।
निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि चौधरीले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गर्न अदालतले निर्देशन दिएको छ भने अन्तरिम आदेश सम्बन्धमा छलफल आगामी सुनुवाइमा हुने भएको छ । चौधरीले सुरुमै अन्तरिम आदेशको माग गरेका थिए ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको हो । साथै अन्तरिम आदेशको विषयमा छलफलका लागि दुवै पक्षलाई माघ १५ गते उपस्थित हुन भनिएको छ ।
कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएको चौधरीलाई टीकापुर हत्याकाण्डसँग सम्बन्धित कर्तव्य ज्यान मुद्दामा तीन तहका अदालतले दोषी ठहर गरेको कारण निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो ।
सर्वोच्च अदालतले माग गरेका चार फाइल यस प्रकार छन्ः
(क) पुनरावेदक रेशमलाल चौधरीसमेत नेपाल सरकार विरुद्धको कर्तव्यज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा नं. ०७७-CR-१०७५, मिति २०८०/२/२ मा भएको फैसलासहितको मिसिल ।
(ख) रिट निवेदक रेशमलाल चौधरी र विपक्षी निर्वाचन आयोगसमेत भएको यसै अदालतमा विचाराधीन ०८०-७०-१०४० को निवेदनसहितको फाइल ।
(ग) निवेदक शारदा कडायत विरुद्ध राष्ट्रपतिको कार्यालयसमेत भएको ०७९-WO-१३३७ को निवेदनसहितको फाइल ।
(घ) निवेदकको उम्मेदवारी खारेजसम्बन्धी निर्वाचन अधिकृतको कार्यालय, कैलालीको मिति २०८२/१०/८ को प्रमाणित प्रतिलिपि/निर्णय ।