देशकै प्रमुख वन्यजन्तु अवलोकन गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ लाख १९ हजार ५७६ पुगेको छ ।
निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनास थापा मगरका अनुसार यस अवधिमा स्वदेशी पर्यटक ७२ हजार ५०८, विदेशी पर्यटक ३९ हजार ७९३ र सार्क राष्ट्रका ७ हजार २७५ पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् ।
गत आर्थिक वर्षको तुलनामा निकुञ्ज घुम्ने कुल पर्यटकको संख्या बढेको देखिन्छ । गत वर्ष साउनदेखि पुससम्म कुल १ लाख १० हजार ३४५ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । यस वर्ष स्वदेशी पर्यटकको संख्या बढ्दा विदेशी र सार्क देशबाट आउने पर्यटक घटेका छन् ।
स्वदेशी पर्यटक गत वर्षको तुलनामा १९ हजार ४०५ बढी आएका छन् । तर विदेशी पर्यटकमा ६ हजार ५९९ र सार्क राष्ट्रका पर्यटकमा ३ हजार ५७५ को कमी आएको छ ।
निकुञ्ज भ्रमणको मासिक विवरण हेर्दा साउन र भदौमा पर्यटकको संख्या न्यून (करिब ७ हजार) भएको थियो । असोजमा संख्या २० हजार नाघेको थियो भने कात्तिकमा सबैभन्दा बढी ३२ हजार २५२ पर्यटक आएका थिए। पुसमा २५ हजार ५८५ पर्यटकले निकुञ्ज घुमेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा सिंगे गैंडा, पाटे बाघ जस्ता विश्वकै दुर्लभ वन्यजन्तु हेर्न पाइन्छ । यसका लागि देश–विदेशबाट पर्यटक आकर्षित हुन्छन् ।
पहिला निकुञ्ज भ्रमण गर्ने पर्यटकमा विदेशीको संख्या बढी हुन्थ्यो । तर भूकम्प र कोरोना महामारीका कारण विदेशी पर्यटकको संख्या घटेको छ । भूकम्पअघि विदेशी पर्यटक १ लाख २७ हजार पुगेको थियो । कोरोनापछि स्वदेशी पर्यटक बढ्न थालेका हुन् ।
पर्यटन व्यवसायी गणेश पौडेलका अनुसार, यस वर्ष भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले धेरै विदेशी पर्यटकको बुकिङ रद्द गराएको थियो । पौडेलले बताए अनुसार पटिहानी–जगतपुर र मेघौली क्षेत्रका होटल–रिसोर्टमा स्वदेशी पर्यटक बढी आएका छन् ।
विदेशी पर्यटक प्रायः फेब्रुअरीदेखि मे सम्म बुकिङ सुरु गर्ने र युरोपियन पर्यटक जून–जुलाईमा आउने गरेका छन् । पौडेलले भने, “हाल बुकिङ सुरु भइसकेको छ, तर चुनावको वातावरणले आगामी पर्यटकको संख्या निर्धारण गर्नेछ ।”