चितवन प्रहरीले रत्ननगर नगरपालिकाकी ६३ वर्षीया सुकमायादेवी तामाङको हत्या उनलाई लगाएका गहना र जम्मा गरेको नगद लुट्ने उद्देश्यले भएको खुलासा गरेको छ । गत पुस २६ गते उनी रत्ननगर–४ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् ।
चितवन प्रहरीले हत्या घटनामा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरेको बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थायी घर भइ रत्ननगर–१० बस्ने ४६ वर्षीय शुक्रबहादुर भोलोन, जितपुर सिमरा–२२ घर भएर ललितपुर–१० च्यासल बस्ने ४२ वर्षीय सूर्यमान वाइबा, धादिङ थाक्रे–५ का ३२ वर्षीय बुद्धिमान लामा, स्याङ्जा बिरुवा–८ पेल्का घर भइ रत्ननगर–४ बस्ने ३१ वर्षीय कौबहादुर गुरूङ, र मकवानपुर थाहा–१२ घर भइ काठमाडौं थानकोट बस्ने ४७ वर्षीय हीराबहादुर स्याङ्ताङ रहेका छन् ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीका अनुसार, शुक्रबहादुर र बुद्धिमानले लुटपाट गर्ने योजनामा अन्य तीन जनाको सहयोग लिएर वृद्धाको हत्या गरेको खुलेको छ । एसपी पुरीले बताए अनुसार, शुक्रबहादुर दुई वर्षअघि सुकमायाकै घरमा डेरा गरेर बस्दै आएका थिए ।
घटनास्थलबाट सुनका गहना, मोबाइल र नगद करिब १५ लाख ३६ हजार ७ सय रुपैयाँ हराएको सुकमायाकी आफन्तले प्रहरीलाई जानकारी दिएका थिए। घटनापछि प्रहरीले तालिम प्राप्त कुकुर र अन्य प्रविधिको सहयोगमा अनुसन्धान गरेको थियो ।
पक्राउ परेकामध्ये, शुक्रबहादुर र सूर्यमान क्रमशः रत्ननगरका चित्रसारी र सौराहाचोकबाट पक्राउ परेका हुन् । बुद्धिमान नवलपरासीको विनयी त्रिवेणी–४ सर्दी बगौंचाबाट, कौबहादुर मुग्लिङ नजिक फिस्लिङबाट, र हीराबहादुर काठमाडौं थानकोटबाट समातिएका हुन् ।
प्रहरीले सुकमायाले प्रयोग गर्ने मोबाइल र पैसाका लागि राख्ने पर्स बरामद गरेको छ। पक्राउ परेकाहरू विरुद्ध कर्तव्य ज्यान तथा डाँका अपराधमा मुद्दा अघि बढाउन इलाका प्रहरी कार्यालय रत्ननगरले अनुसन्धान गरिरहेको जनाएको छ ।