बलान बिहुल गाउँपालिका–२ चन्हीस्थित बेल्ही भन्सार–कुशहा सडक स्तरोन्नति कार्यमा बालबालिकाको प्रयोग भएको पाइएको छ ।
सडक स्तरोन्नति गर्ने ठेक्का गुञ्जा कन्स्ट्रक्सन, खडक नगरपालिका–८, सप्तरीले पाएको छ । सामान्यतया मजदुरले ८ सयदेखि १ हजार रुपैयाँसम्म ज्याला लिन्छन्, तर ठेकेदार गोविन्दप्रसाद मण्डलले ४ सयदेखि ६ सय रुपैयाँसम्म बालबालिकालाई मजदुरीमा लगाइरहेको बताइएको छ ।
निर्माणस्थलमा ५–६ बालबालिकाले दैनिक मजदुरी गरिरहेका छन् । मजदुर बालकहरूले भने, ‘बिहान ८ बजेदेखि काम गर्न आउँछु । बेलुका फर्किंदा ठेकेदारले ५ सय रुपैयाँ दिन्छन् ।’ सडक स्तरोन्नतिको काम चार दिनदेखि भइरहेको छ ।
ठेकेदार मण्डलले बालबालिकालाई काममा लगाएको विषय अस्वीकार गर्दै भने, ‘बालबालिकालाई काममा लगाएको छैन । उनीहरु आफैं बुवासँग आउँछन्। ज्याला पनि दिइएको छैन, खाना खाएर फर्किन्छन् ।’
सडक डिभिजन कार्यालय लहानले २६ मंसिर २०८२ मा गरेको सम्झौताअनुसार ३० असार २०८३ सम्म भ्याटसहित २ करोड ७ लाख १३ हजार ७२ रुपैयाँको लगानीमा सडक स्तरोन्नति गर्ने योजना बनाइएको हो । डिभिजन कार्यालयका प्रमुख ध्रुवकुमार झाले भने, ‘बुझेर तत्कालै बालबालिकाको प्रयोग रोक्ने छु ।’
गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले भने, ‘सडक निर्माण कार्यमा बालबालिकाको प्रयोग भए कानुन अनुसार कारबाही हुनेछ । यदि त्यस्तो पाइएको छ भने कारबाहीको लागि सिफारिस गर्नेछौं ।’