सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. ४ अन्तर्गतका चारवटै स्थानीय तहमा भौतिक पूर्वाधार विकासका लागि एक अर्ब १३ करोड छ लाख रुपैयाँ बराबरको बहुवर्षीय योजना सुनिश्चित भएको छ ।
प्रतिनिधिसभा सदस्य सिताराम साहको पहलमा संघीय भौतिक पूर्वाधार विकास मन्त्रालयबाट उक्त बजेट सुनिश्चित भएको हो । सुनिश्चित बजेटमध्ये चालु आर्थिक वर्षका लागि १५ करोड रुपैयाँ प्राप्त भएको छ । सोही रकमबाट सञ्चालन गरिने योजनाको छनोट तथा कार्यान्वयन प्रक्रिया अघि बढाउन मंगलबार छलफल गरिएको छ ।
सांसद साहको पहलमा खडक नगरपालिकाको सभाहलमा चारवटै स्थानीय तहका प्रमुख तथा अध्यक्ष र सघन सहरी विकास कार्यालय, राजविराज तथा विभागका कर्मचारीबीच छलफल भएको हो ।
छलफलमा चालु आर्थिक वर्षमा प्राप्त १५ करोड रुपैयाँबाट सञ्चालन गर्न सकिने योजनाको छनोट, कार्यान्वयन प्रक्रिया तथा सम्बन्धित निकायबीचको समन्वयका विषयमा विचार–विमर्श गरिएको सांसद साहले जानकारी दिए ।
उनका अनुसार सुनिश्चित भएको कुल बजेटमध्ये बाँकी रकम आगामी दुई वर्षभित्र सरकारले उपलब्ध गराउने निश्चित भएको छ । बहुवर्षीय योजनाअन्तर्गतको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गरी क्षेत्रका चारवटै स्थानीय तहमा भौतिक पूर्वाधार विकासलाई गति दिने उद्देश्य रहेको उनले बताए ।
छलफलमा सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरी, खडक नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी, बोदेबर्साइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह र बलानबिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवसहित सघन सहरी विकास कार्यालय तथा विभागका कर्मचारीहरूको सहभागिता रहेको थियो ।