स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले छिमेकी देशमा देखिएको निपाह भाइरस सङ्क्रमणको जोखिम नेपालमा न्यून रहे पनि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।
मन्त्रालयले यसलाई मध्यनजर गर्दै पूर्वतयारीका कदमस्वरूप देशभरका स्वास्थ्य संस्था तथा सम्बन्धित निकायहरूलाई सतर्क गराइएको जनाएको छ । साथै निपाह भाइरसको परीक्षण एल्गोरिदम (अन्तरिम) समेत तयार गरिएको जानकारी दिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी तथा दक्षिण–पूर्वी एसिया क्षेत्रीयस्तरमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्याङ्कन गरे पनि मन्त्रालयले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सचेत रहन अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख डा. प्रकाश बुढाथोकीले नागरिकहरूको स्वास्थ्य सुरक्षाका लागि मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको र आवश्यक सबै कदम चालिरहेको जानकारी गराए ।
उनले सबैलाई नआत्तिन तर सचेत, सजग र जिम्मेवार बन्न आग्रह गरेका छन् ।
प्रवक्ता डा. बुढाथोकीका अनुसार कुनै शङ्कास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा तुरुन्त सम्पर्क गर्नुपर्नेछ ।
चिकित्सकहरूका अनुसार निपाह भाइरस सङ्क्रमित चमेराको र्याल, पिसाब वा मलमूत्रले दूषित फलफूल सेवन गर्दा सङ्क्रमण हुनसक्छ। साथै सङ्क्रमित व्यक्तिको रगत, थुक, पिसाब वा नजिकको सम्पर्कबाट तथा चमेराबाट सुँगुर हुँदै पनि मानिसमा सङ्क्रमण सर्न सक्ने बताइएको छ ।
ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, बान्ता हुने तथा गम्भीर अवस्थामा होस हराउनेजस्ता लक्षण देखिएमा बिरामीको शीघ्र पहिचान, आइसोलेसन, रिपोर्टिङ तथा सङ्क्रमण रोकथाम तथा नियन्त्रणका मापदण्ड कडाइका साथ पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।