तनहुँका किसानहरूले यस वर्ष सुन्तला बिक्रीबाट रु ४५ करोड ५० लाख भन्दा बढी आम्दानी गरेका छन् । गतवर्ष रु ४२ करोड बराबरको बिक्री गरेको जिल्लाले यस वर्ष करिब रु ३ करोड ५० लाख बढी आम्दानी गरेको हो ।
जिल्लामा एक हजार ६७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको छ भने यसमध्ये ९७७ हेक्टरबाट उत्पादन भएको कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी किरण परियारले जानकारी दिएका छन् ।
उनका अनुसार ११ हजार ८२१ दशमलव ७ मेट्रिकटन उत्पादनमध्ये औपचारिक रूपमा ५ हजार ८२१ दशमलव ९ मेट्रिकटन बिक्री भएको थियो । तनहुँको आँबुखैरेनी, घिरिङ्ग, देवघाट, भीमाद, म्याग्दे, ऋषिङ्ग, बन्दीपुर, व्यास र शुक्लागण्डकी नगरपालिकाका विभिन्न क्षेत्र सुन्तलाखेतीका लागि प्रख्यात पकेट क्षेत्र मानिन्छन् ।
कृषि विकास कार्यालयका प्रमुख परशुराम अधिकारीका अनुसार सुन्तला उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि किसानको आकर्षण सुन्तलाखेतीतर्फ बढ्दै गएको छ । तनहुँमा उत्पादित अधिकांश सुन्तला दमौली, पोखरा र काठमाडौँका व्यापारीले खरिद गर्दै आएका छन् । किसानहरूले बजारको समस्या नदेखी सजिलै बिक्री गर्न पाउँदा थप उत्साहित देखिएका छन् ।
कार्यालयले किसानलाई अनुदान अन्तर्गत निःशुल्क बेर्ना, नयाँ क्षेत्रफल विस्तारका लागि खाल्टो खन्न, सिँचाइ पोखरी निर्माण, अनावश्यक हाँगा काट्ने मेसिन खरिद जस्ता सहयोग प्रदान गरेको छ । साथै, सुन्तलामा लाग्ने रोग, किराको रोकथामबारे स्थलगत अभ्यासमूलक तालिम सञ्चालन गरी आवश्यक उपकरण हस्तान्तरण गरी किसानलाई प्रोत्साहित गर्दै आएको जानकारी दिइएको छ ।