पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यास अभाव भएको भन्दै फैलिएको हल्ला निराधार रहेको भन्दै नेपाल आयल निगमले तथ्यांक सार्वजनिक गरेको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले देशमा ग्यास आपूर्ति मागभन्दा बढी भइरहेको जानकारी दिएका छन् ।
उनका अनुसार, देशमा दैनिक औसत ९० बुलेट (करिब १ लाख १४ हजार सिलिन्डर) ग्यासको माग भए पनि इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट हाल लोडिङ भइरहेको ग्यासको मात्रा यसभन्दा बढी छ ।
गत शनिबार १ सय १८ बुलेट (१ लाख ४९ हजार ५ सय सिलिन्डर), आइतबार १ सय १५ बुलेट (१ लाख ४५ हजार ७ सय सिलिन्डर), र मंगलबार १ सय ३२ बुलेट (१ लाख ६७ हजार ३ सय सिलिन्डर) ग्यास लोडिङ भएको छ ।
डा. भट्टले आगामी चुनाव अवधिभरि पनि नियमित ग्यास आपूर्ति जारी रहने दाबी गर्दै उपभोक्तालाई अनावश्यक रूपमा सिलिन्डर भण्डारण नगर्न आग्रह गरे। उनले भने, “बजारमा आपूर्ति पर्याप्त छ । अनावश्यक सञ्चयले मात्र कृत्रिम दबाब सिर्जना हुन्छ ।”
नेपाल आयल निगमले आपूर्ति व्यवस्थामा कुनै समस्या नरहेको जानकारी दिँदै उपभोक्तालाई ढुक्क हुन आग्रह गरेको छ ।