प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरेकी छन् ।
बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेस अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन एकै चरणमा सम्पन्न हुने स्पष्ट पारिन् ।
उनले निर्वाचनका बेला देशभर मौसमसमेत अनुकूल रहने विश्वास व्यक्त गर्दै सबै मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने बताइन् । निर्वाचनपछि निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गरी आफूहरू घर फर्किने पनि उनले उल्लेख गरिन् ।
प्रधानमन्त्री कार्कीले भनिन्,
‘ढुक्क र निश्चिन्त हुनुस्, एकै दिनमा चुनाव हुन्छ। दुई पटक हुनेवाला छैन। तोकिएकै मितिमा हुन्छ । मलाई लाग्छ मौसम पनि राम्रो हुनेछ । हामी सबैले मतदान गर्न पाउनेछौँ। निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गर्छौँ र आफ्नो घर जान्छौँ ।’
यसअघि केही दिनअघि पूर्वी नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको ब्यारेकमा राष्ट्रिय सेवादल (एनसिसी) द्वारा आयोजित विद्यार्थी तालिम समापन समारोहमा प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा अत्यधिक चिसो बढेमा दोस्रो चरणमा निर्वाचन गरिने सम्भावनाबारे उल्लेख गरेकी थिइन् ।