नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् । माघ २२ मा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई यो जिम्मेवारी दिइएको हो ।
नवनियुक्त डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल इन्जिनियरिङ्ग (बीई) गरेका हुन् । उनी २०५१ जेठ १ देखि तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा अस्थायी इन्जिनियर पदमा सेवा प्रवेश गरेकी थिइन् र २०५२ जेठ ९ मा स्थायी नियुक्ति लिइन् ।
डंगोल २०८० जेठ ३२ मा नेपाल टेलिकमको नायब प्रबन्ध निर्देशकमा नियुक्त भइसकेकी थिइन् । उनले प्रादेशिक निर्देशनालय विराटनगर, काठमाडौं तथा वायरलाइन र ग्राहक सेवा निर्देशनालयको निर्देशकको रूपमा कार्य गरिसकेकी छन् । हाल उनी प्रमुख प्राविधिक अधिकृतको रूपमा कार्यरत थिइन् ।
पदभार ग्रहण गर्दै डंगोलले कम्पनी, कर्मचारी र राष्ट्रको हितलाई केन्द्रमा राख्दै ग्राहकको चाहना र सरकारको प्राथमिकताबमोजिम अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले नेपाल टेलिकमलाई ग्राहक–केन्द्रित, प्रविधिमैत्री र आर्थिक रूपमा सक्षम बनाउँदै सार्वजनिक दायित्व र प्रतिस्पर्धात्मक क्षमतालाई सन्तुलित रूपमा अघि बढाउने लक्ष्य राखेकी छन् ।