आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाअन्तर्गत १ सय १७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म १ करोड ५३ लाखभन्दा बढी मतपत्र छपाइ सकिएको छ । आयोगका सह–प्रवक्ता कुलबहादुर जिसीका अनुसार हिजो मात्रै ६ जिल्लाको मतपत्र छपाइ सम्पन्न गरिएको हो ।
प्रत्यक्षतर्फको निर्वाचनका लागि कूल २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्ने आयोगले जनाएको छ । हाल दैनिक करिब १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ ।
निर्वाचन आयोगले आजसम्म सबै मतपत्र छपाइ सकी सम्बन्धित जिल्लामा पठाउने तयारी गरेको जनाएको छ ।
हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभाको मतपत्र छपाइ सकिएको छ ।
यस्तै सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी बर्दघाट सुस्ता पूर्व, पाल्पा, अर्घाखाँची, प्युठान, रुपन्देही र रोल्पा जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ ।