काठमाडौंको कोटेश्वरमा ‘भ्यालेन्टिनो इन्टरनेसनल कलेज अफ फेसन एन्ड इन्टेरियर’ सञ्चालनमा आएको छ ।
करिब एक दशकदेखि फेसन डिजाइनिङ क्षेत्रमा सक्रिय रहेकी सुक्निता चौलागाईंसहितको टिमले कलेज औपचारिक रूपमा सुरु गरेको हो । फेसन तथा इन्टेरियर डिजाइन क्षेत्रमा करिअर बनाउन चाहने युवायुवतीलाई सर्वसुलभ रूपमा व्यावसायिक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले कलेज स्थापना गरिएको सञ्चालिका चौलागाईंले जानकारी दिइन् । यसका लागि एकवर्षे डिप्लोमा कोर्स तयार पारिएको छ ।
चौलागाईंका अनुसार नेपालमा प्रयोगात्मक (प्राक्टिकल) रूपमा फेसन तथा इन्टेरियर डिजाइन पढाइ हुने कलेजको संख्या सीमित छ । “हामीले सुरु गरेको एकवर्षे कोर्सले युवाहरूलाई आफ्नो नियमित शैक्षिक अध्ययनमा असर नपर्ने गरी सीप सिक्दै सपना पूरा गर्न मद्दत गर्छ,” उनले बताइन् । उनले यस कलेजलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भएको समेत उल्लेख गरिन् ।
कलेजमा फेसन डिजाइनिङ, बुटिक म्यानेजमेन्ट, ड्रेपिङ एन्ड स्टिचिङ, स्टाइलिङलगायतका छुट्टाछुट्टै कोर्सहरू सञ्चालन गरिनेछ । अनुभवी शिक्षक तथा डिजाइनरहरूले सैद्धान्तिकसँगै प्रयोगात्मक कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
यो कोर्स अध्ययन गरेका विद्यार्थीले फेसन डिजाइनर, बुटिक सञ्चालक, स्टाइलिस्ट तथा प्याटर्न मेकरका रूपमा करिअर अगाडि बढाउन सक्ने चौलागाईंको भनाइ छ ।
उनका अनुसार पछिल्लो समय नेपाली समाजमा फेसनप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढेको छ । “सेलेब्रिटी कलाकार मात्र होइन, नेतादेखि सर्वसाधारणसम्म राम्रो र स्मार्ट देखिन चाहन्छन्,” उनले भनिन्, “यसले फेसन डिजाइनिङ क्षेत्रमा अवसरको दायरा फराकिलो बन्दै गएको देखाउँछ ।”
चौलागाईंले कोटेश्वरमै आठ वर्षदेखि ‘भ्यालेन्टिनो द बुटिक’ सञ्चालन गर्दै आएकी छन् । उनले डिजाइन गरेका पहिरनहरू विभिन्न र्याम्प शो, नेपाली फिल्म तथा म्युजिक भिडियोमा समेत रुचाइएका छन् ।