केपी शर्मा ओली ले देउवाको घरमा जलेको भनिएको पैसाको विषयमा पुनः बचाउ गर्दै अभिव्यक्ति दिएका छन् । नेकपा एमाले का अध्यक्ष ओलीले झापामा चार दिनसम्म घरदैलो अभियानका क्रममा यस्तो धारणा व्यक्त गरेका हुन् । उक्त अभिव्यक्ति यतिबेला सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ ।
घरदैलो कार्यक्रमकै क्रममा एक मतदाताले जेनजी आन्दोलनका बेला नेताहरूको घरमा पैसा जलेको विषयमा जिज्ञासा राखेकी थिइन् । सोही क्रममा भएको प्रश्न–उत्तरमा ओलीले शेरबहादुर देउवा को घरमा जलेको भनिएको पैसा नक्कली भएको दाबी गरेका थिए ।
प्रश्नकर्ताले देउवाको घरमा पैसा जलेको विषय उठाएपछि ओलीले आफ्नो घर जलेको घटनालाई मजाक नगर्न आग्रह गरेका थिए । उनले आफूले पैसा जम्मा नगरेको भन्दै जलेको पैसाबारे प्रश्न उठाएका थिए ।
त्यसपछि प्रश्नकर्ताले देउवाको घरमा जलेको देखिएको पैसाबारे पुनः जिज्ञासा राखेपछि ओलीले देखाइएको पैसा समेत नक्कली भएको दाबी दोहोर्याएका थिए । साथै उनीसँगै रहेका सहयोगीहरूले देखाइएको दृश्य एआईबाट तयार गरिएको हुन सक्ने टिप्पणी गरेका थिए ।
यसअघि पनि ओलीले झापाकै कमल गाउँपालिकामा घरदैलो अभियानका क्रममा जलेको पैसासम्बन्धी भिडियो एआईबाट तयार गरिएको हुन सक्ने बताएका थिए ।
उक्त विषय जेनजी आन्दोलनका क्रममा देउवाको बुढानिलकण्ठस्थित निवासमा भएको आगजनीसँग जोडिएको बताइँदै आएको छ । त्यस घटनापछि स्थलगत रिपोर्टिङमार्फत जलेको अवस्थामा रकम भेटिएको दाबी सार्वजनिक भएको थियो ।