सुन्धरास्थित धरहरा क्षेत्रमा निर्माण भएको सवारी पार्किङको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने भएको छ ।
शुक्रबार धरहरा क्षेत्रमा नेपाल सरकार र काठमाडौं महानगरपालिकाबीच बसेको संयुक्त बैठकले धरहरा परिसरभित्र निर्माण गरिएको सवारी पार्किङलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो । यसका लागि महानगरले महानगर प्रहरी बललाई परिचालन गर्ने निर्णय गरिएको छ ।
बैठकले धरहरा क्षेत्रको समग्र सञ्चालनका लागि तत्कालीन र दीर्घकालीन योजना तयार गर्न संयुक्त समिति गठन गर्ने निर्णय पनि गरेको छ । उक्त समितिमा शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले तोकेका पदाधिकारीहरू रहनेछन्। समितिले परियोजना सञ्चालन, प्रारूप तथा आवश्यक अध्ययन–विश्लेषण गरी सुझावसहित प्रतिवेदन पेश गर्नेछ ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार धरहराको बाहिरी संरचनासम्बन्धी आवश्यक तथा उपयुक्त कार्य गर्न महानगरलाई जिम्मेवारी दिइएको छ । उनले समग्र धरहरा सञ्चालनको जिम्मा पूर्ण रूपमा महानगरलाई हस्तान्तरण गर्न आग्रह गरिएको पनि जानकारी दिइन् ।