नेपालले चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा ९३ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ बराबरको कच्चा खाद्यतेल आयात गरेको छ भने ७८ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबरको प्रशोधित खाद्यतेल निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार सबैभन्दा बढी कच्चा भटमासको तेल आयात भएको छ ।
विभागका अनुसार ७० अर्ब ९९ करोड रुपैयाँ बराबरको ४४ करोड ८३ लाख लिटरभन्दा बढी कच्चा भटमासको तेल आयात भएको छ । सोही अवधिमा ६६ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको ३२ करोड ४१ लाख लिटर प्रशोधित भटमासको तेल निर्यात भएको छ । कुल निर्यातमा खाद्यतेलको हिस्सा करिब ४६ प्रतिशत रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कच्चा भटमास तेल आयात ८५ प्रतिशतभन्दा बढीले बढेको छ भने प्रशोधित भटमास तेल निर्यात १०६ प्रतिशतले वृद्धि भएको छ ।
भारतले २०२५ मे महिनामा कच्चा खाद्यतेलमा भन्सार दर घटाएपछि नेपालमा कच्चा तेल आयात र प्रशोधित तेल निर्यातमा प्रत्यक्ष प्रभाव परेको देखिएको छ । नेपालले कच्चा तेल तेस्रो मुलुकबाट आयात गरी प्रशोधनपछि मुख्य रूपमा भारतमै निर्यात गर्ने गरेको छ ।
नेपालको वैदेशिक व्यापार संरचना आयातित कच्चा पदार्थमा आधारित पुनः निर्यातमा निर्भर देखिएको छ । सात महिनामा ११ खर्बभन्दा बढीको वस्तु आयात हुँदा करिब १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । निर्यात हुने वस्तुमध्ये भटमास तेलको हिस्सा सबैभन्दा बढी रहेको छ ।