चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म पूर्वी नाका काँकडभिट्टा बाट रु ११ अर्ब ५२ करोड २६ लाख ४६ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
मेची भन्सार कार्यालय का सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा रु ६० करोड २० लाख १० हजारले आयात वृद्धि भएको हो ।
पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ (हवाई इन्धन) र मट्टितेल आयात हुँदै आएको छ । आयात वृद्धि भएसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व ६ दशमलव ७० प्रतिशतले बढेको कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको सात महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु ५ अर्ब ६३ करोड ४५ लाख ७३ हजार राजस्व सङ्कलन भएको छ । यस अवधिमा रु ५ अर्ब ५३ करोड ४१ लाख मूल्य बराबरको ६२ हजार ९३२ किलोलिटर पेट्रोल आयात गरिएको छ । त्यस्तै रु ३ अर्ब ८१ करोड २८ लाख मूल्यको ४० हजार ३५२ किलोलिटर डिजेल आयात भएको छ ।
यसैगरी रु १ अर्ब ४६ करोड ३१ लाख मूल्य बराबरको १४ हजार ९९९ मेट्रिकटन एलपी ग्यास, रु ४३ करोड ५८ लाख मूल्यको ४ हजार ७३६ किलोलिटर एटिएफ तथा रु ११ करोड ३० लाख मूल्यको १ हजार २१२ किलोलिटर मट्टितेल आयात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।
पेट्रोलियम पदार्थको आयात वृद्धि भएसँगै पूर्वी नाकाबाट हुने राजस्व सङ्कलनमा पनि उल्लेखनीय सुधार देखिएको भन्सार कार्यालयले जनाएको छ ।