पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि पन्तलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका युवाहरूले सम्मानित गरेका छन्। स्थानीय युवाहरूले उत्साहजनक सहभागितासहित उनलाई माला, अबिर तथा खादा लगाएर स्वागत गर्दै सम्मान गरेका हुन्।
कार्यक्रमका क्रममा युवाहरूले सांसद पन्तलाई डायरी हस्तान्तरण गर्दै क्षेत्रको विकास, समस्या समाधान तथा स्थानीय आवश्यकतासम्बन्धी विस्तृत सूची प्रस्तुत गरेका छन्। उनीहरूले निर्वाचित सांसद पन्तबाट यी कार्यहरू छिट्टै तथा समयमै पूरा हुने अपेक्षा राखेका छन्।
स्थानीय युवा चन्दन प्रजापतिका अनुसार, प्रमुख मागहरूमा बेरोजगारी घटाउने, अधुरो रहेको नगवा पोखरी संरचनाको निर्माण सम्पन्न गर्ने, नगवा चौकदेखि भित्री गाउँसम्म जाने मुख्य बाटो निर्माण गर्ने र नगवा धर्मशालामा रहेका अधुरा कार्यहरू पूरा गर्ने जस्ता मुद्दा समावेश छन्। प्रजापतिले भने, “हामी युवाहरूले निर्वाचनमा साथ दिएका थियौँ, अब विकासका काममा पनि उहाँबाट ठोस प्रतिबद्धता र छिटो कार्यान्वयनको अपेक्षा गरेका छौँ। बेरोजगारी, बाटो, पोखरी र धर्मशाला जस्ता आधारभूत समस्याहरू समाधान भएपछि नगवाको मुहार फेरिनेछ।”
कार्यक्रममा बोल्दै सांसद पन्तले युवाहरूको उत्साह र अपेक्षालाई उच्च मूल्याङ्कन गर्दै डायरी आफू लागि मार्गदर्शन भएको बताए। उनले भने, “मैले निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धता पूरा गर्नेछु। बेरोजगारी घटाउने, पूर्वाधार विकास गर्ने र स्थानीय आवश्यकता प्राथमिकतामा राखेर काम गर्नेछु। नगवा लगायत सम्पूर्ण क्षेत्रको समृद्धिका लागि युवाहरूसँगै मिलेर अघि बढ्नेछु।”
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका उम्मेदवार हरि पन्तले नेकपा (एमाले) का पूर्व मन्त्री प्रदीप यादवलाई १४ हजार २४४ मतान्तरले पराजित गर्दै २७ हजार २७४ मत प्राप्त गरी विजय हासिल गरेका थिए। निकटतम प्रतिद्वन्द्वी प्रदीप यादवले १३ हजार ३० मत प्राप्त गरेका थिए भने नेपाली काँग्रेसका अनिल रुंगटाले ११ हजार ८८५ मत ल्याएका थिए।
यो कार्यक्रमले निर्वाचनपछि स्थानीय तहमा जनताको विकासप्रतिको उच्च अपेक्षा र उत्साह स्पष्ट रूपमा झल्काएको छ। स्थानीयवासी तथा युवाहरूले सांसद पन्तबाट क्षेत्रको समग्र विकासमा सक्रिय, प्रभावकारी र जनमुखी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।