ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र र मारवाडी युवा समाजको संयुक्त आयोजनामा मारवाडी प्रिमियर लिग (MPL) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण वीरगंजको आर्दशनगर रंगशालामा सुरु भएको छ।
सुशील खेतान "टिपु" को स्मृतिमा आयोजना गरिएको यस प्रतियोगिता दिन र रात दुवै समयमा सञ्चालन हुने तय गरिएको छ। फाल्गुन २९ गतेदेखि चैत १० गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा जम्मा १० टिमले भाग लिएका छन । आयोजकले जनकारी दिएको अनुसार युवा देखि हरेक उमेरका खेलाडीहरूले यस प्रतियोगितामा भाग लिन सक्नेछन्।
प्रतियोगिता हेर्न आउने दर्शकहरूको सुरक्षा र सहजता सुनिश्चित गर्न वीरगंज महानगरपालिका लगायत आसपासका क्षेत्रमा लामखुट्टेको बिगबिगिका कारण रातिमा खेल हेर्न आउने दर्शकलाई असुविधा नहोस् भनी आर्दशनगर रंगशालामा लामखुट्टे नियन्त्रणका लागि औषधि पनि छरिएको छ। आयोजक समितिका अनुसार MPL क्रिकेट प्रतियोगिताले सुशील खेतान "टिपु" को सम्झना गर्दै क्रिकेटप्रति युवाहरूमा उत्साह र सहभागिता बढाउने उद्देश्य राखेको छ।
प्रतियोगिताको उदघाटन वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गरेका हुन्। आदर्शनगर रंगशालामा ग्रीन सिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद पोखरेल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीषक सुदीपराज पाठक, सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्री, पर्साका प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेत, राजु कार्की, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक बिक्रम सुवेदी लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
शुक्रबारदेखि शुरु “मारवाडी प्रिमियर लिग–३” क्रिकेट प्रतियोगितामा एभरेस्ट ब्लेजिङ हक्स र द फग फाइटर्स कैलाशबीच भएको रोमाञ्चक क्रिकेट खेलमा फग फाइटर्स ३३ रनले विजयी भएको हो।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको फग फाइटर्स कैलाशले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै १२३ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा उत्रिएको एभरेस्ट ब्लेजिङ हक्सले १५ ओभरमा ७ विकेटकै क्षतिमा मात्र ९० रन जोड्न सक्यो।
प्रतियोगिता अवधिभर २३ वटा खेल खेलाइने कार्यक्रम रहेको आयोजकले जनाएका छन ।