मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा गोरखामा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन गाउँपालिका वडा नम्बर–३ का अध्यक्ष दिपक पाण्डेका अनुसार गाडीमा १५ जना भारतीय नागरिक सवार थिए। तीमध्ये ७ जनाको घटनास्थलमै ज्यान गएको हो भने बाँकी ८ जनाको सकुशल उद्धार गरिएको छ।
घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते एक जनालाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ।
दुर्घटनापछि घटनास्थलमा रहेका केही शव निकाल्न सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको थियो। वडाध्यक्ष पाण्डेका अनुसार दुर्घटना राति करिब ८ बजे भएको हो। गाडी सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको बताइएको छ।
प्रारम्भिक अनुमानअनुसार ओरालो सडकमा ईभी गाडी अत्यधिक तातेर ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने देखिएको छ।
“बाटो निर्माणाधीन अवस्थामा छ र ढलान पनि अप्ठ्यारो छ। सडक निकै ठाडो र जोखिमपूर्ण छ,” वडाध्यक्ष पाण्डेले भने, “त्यसमाथि वर्षासमेत भइरहेको थियो। ब्रेक नलागेरै गाडी खसेजस्तो देखिन्छ।” रुट बाहिरको गाडी भएका कारण चालकलाई सडकबारे पर्याप्त जानकारी नभएको हुन सक्ने अनुमान पनि गरिएको छ।