नागार्जुन नगरपालिका – ८ भिमढुंगाबाट हुन्डी तथा अभौतिक मुद्राको अवैध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनीहरूलाई करोड १६ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो । अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले कारवाही गरेको जनाएको छ ।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका – ८ का २८ वर्षीय सागर गिरी र सोही स्थानका २८ वर्षीय प्रमोद प्रसाद धिताल रहेका छन्। उनीहरूको अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले पाँच दिनको म्याद थप गरेको छ ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले विभिन्न बैंकमा रहेका विभिन्न व्यक्तिको नाममा चेक, २७ लाख ३० हजार रुपैयाँ बराबरको चेक, विभिन्न व्यक्तिका नाममा रहेका एटीएम कार्ड, नागरिकता, दुई थान चारपाङ्ग्रे सवारी साधन, एक थान दुई पाङ्ग्रे सवारी, तीन थान सवारी दर्ता किताब, विभिन्न कम्पनीका ६ वटा मोबाइल फोन, ३१ थान सिमकार्ड, एक थान कम्प्युटर लगायतका सामग्री बरामद गरेको छ ।
यस घटनाले अवैध मुद्रा तथा वित्तीय कारोबार नियन्त्रणको आवश्यकतालाई झल्काएको छ र प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।