बारामा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेको समयमा हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास स्टक राखिएको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा गएको बजार अनुगमन टोलीले उद्योगको डिपोमा पुग्दा १४.२ केजीका ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर स्टोर गरिएको फेला पारेको हो ।
अनुगमनका क्रममा पत्ता लागेको विवरण अनुसार, उद्योगले बजारमा पठाउन आनाकानी गर्दै सिलिन्डर थुपारेर राखेको ठहर गर्दै उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ बमोजिम ‘अनुचित व्यापारिक क्रियाकलाप’ गरेको भन्ने कारण देखाउँदै उद्योगलाई सोही ऐनको दफा ३९ (१) (ख) अनुसार ३ लाख रुपैयाँ जरिबाना गरिएको छ ।
विभागले जरिबानासँगै मौज्दात रहेका सबै सिलिन्डरहरू नेपाल आयल निगमको समन्वयमा आजकै मितिदेखि उपभोक्तालाई बिक्री वितरण गर्न निर्देशन दिएको छ । वाणिज्य विभागका महानिर्देशक रोशन ज्ञवालीले उद्योगले अनावश्यक रूपमा सिलिन्डर जम्मा गरेर कृत्रिम अभाव सिर्जना गरेको र उपभोक्तालाई मार्फत पारेको स्पष्ट पारे ।
महानिर्देशक ज्ञवालीले भने, “बजारमा ग्यासको हाहाकार छ, तर यहाँ ६ हजारभन्दा बढी सिलिन्डर थुप्रिएका छन् । यो स्पष्ट रूपमा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास हो। यसबाट उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण सिर्जना हुनेछ ।”
उद्योगका व्यवस्थापन परामर्शदाता डिल्ली ढकालले भने, सिलिन्डर स्टक रहनु उद्योगको गल्ती नभई प्राविधिक र नीतिगत कारण रहेको दाबी गरेका छन् । ढकालका अनुसार, डिपोमा दुई–तीन दिनका लागि ग्यास स्टक राखिने चलन छ र हालको ६ हजार ३ सय ७७ सिलिन्डर नेपाल आयल निगमले आधा सिलिन्डर मात्र बिक्री गर्ने निर्णय अघि नै भरिएका थिए ।
बजार अनुगमन टोलीले अन्य ग्यास उद्योगहरूमाथि पनि निगरानी बढाएको छ र कसैले पनि कालोबजारी वा अनावश्यक स्टक राखे कानुनी कारबाही हुने चेतावनी दिएको छ ।