इजरायलका रक्षामन्त्री इजरायल काट्जले अली लारीजानीको मृत्यु भएको दाबी गरेका छन् ।
काट्जले एक विज्ञप्तिमा आफूलाई भर्खरै इरानका उच्च सुरक्षा अधिकारीको मृत्युको जानकारी प्राप्त भएको उल्लेख गरेका छन् ।
तर इरानी सञ्चारमाध्यम ‘तस्निम’ र ‘मेहर’ समाचार एजेन्सीले भने लारीजानीले छिट्टै एउटा सन्देश जारी गर्ने तयारीमा रहेको दाबी गरेका छन् ।
अली लारीजानी इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रभावशाली सचिव हुन् । उनी अगस्ट २०२५ मा राष्ट्रपति मसुद पेजेस्कियानले परिषद्को सचिव र दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको प्रतिनिधिको रूपमा नियुक्त गरेका थिए ।
राजधानी र अन्य सहरमा विस्फोट
अलजजिराले विगत केही घण्टादेखि तेहरानका विभिन्न भागमा ठूला विस्फोटका आवाज सुनिएको जनाएको छ । विस्फोट राजधानीमा मात्र सीमित नभई अह्वाज, इस्फाहान र सिराज़मा पनि भएका छन् ।
अलजजिराले राजधानीका महत्त्वपूर्ण भवनहरूमा आक्रमण भएको र दुई प्रमुख व्यक्तिहरू – आईआरजीसीको बासिज बल कमाण्डर घोलमरेजा सोलेमानी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारीजानीमाथि निशाना बनाइएको जनाएको छ ।
इजरायल डिफेन्स फोर्सेसले एक इजरायली सैन्य अधिकारीमार्फत अली लारीजानीमाथि आक्रमण गरेको दाबी गरेको छ । उनको मृत्यु वा घाइते भएको अवस्था अझै स्पष्ट भएको छैन ।
अली लारीजानीको सन्देश
सोमबार अबेर साँझ अली लारीजानीले मुस्लिम–इस्लामिक देशका सरकारहरूको आलोचना गर्दै पत्र जारी गरेका थिए । उनले भनेका थिए, “के तपाईंलाई थाहा छ, औँलामा गन्न सकिने केही घटनाहरूलाई छाडेर कुनै पनि इस्लामिक सरकारले इरानी जनतालाई सहयोग गरेनन्?”
अलीले थप लेखेका थिए, “इरान तपाईंहरूको सहयोगी हो र तपाईंहरूमाथि हावी हुने हाम्रो कुनै मनसाय छैन, तर तपाईंहरू कसको पक्षमा हुनुहुन्छ?”
घोलमरेजा सोलेमानी को हुन्?
घोलमरेजा सोलेमानी इरानको अर्धसैनिक स्वयंसेवक समूह बासिज बलको प्रमुख थिए । सन् १९६४ मा जन्मिएका सोलेमानीले युवावस्थामै आईआरजीसीमा प्रवेश गरेका थिए र इरान–इराक युद्धमा बटालियन कमाण्डर बने । पछि विभिन्न आईआरजीसी डिभिजनको नेतृत्व गर्दै उनी पदोन्नति हासिल गरे ।
सन् २०१९ देखि सोलेमानीले बासिज बलको नेतृत्व सम्हालेका थिए । करिब ४ लाख ५० हजार जनशक्ति रहेको यो बल इरानको आन्तरिक सुरक्षा संयन्त्रको महत्वपूर्ण अंग मानिन्छ ।
अमेरिका, युरोपेली युनियन, बेलायत र क्यानडा लगायत पश्चिमी देशहरूले उनलाई प्रतिबन्ध लगाएका छन् ।
इरानी सरकारले अहिलेसम्म इजरायलको आक्रमण दाबीमा कुनै प्रतिक्रिया दिएका छैनन् ।