गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणअनुसार देशका विभिन्न ३० जिल्लामा ३६ वटा विपद्का घटना भएका छन् ।
चैत ६ गते बिहान १० बजेदेखि चैत ७ गते बिहान १० बजेसम्म भएको अवधिमा ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी चट्याङका घटना भएका छन् । ९ जिल्लामा भएका १० वटा चट्याङका घटनामा परी १० जना घाइते भएका छन्। यस्तै, ७ जिल्लामा भएका ७ वटा आगलागीका घटनामा दुई जना घाइते भएका छन् ।
लेक लागेर दुई जिल्लामा दुई वटा घटना भएका छन्, जसमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । यसबाहेक अविरल वर्षा, पहिरो, हावाहुरी तथा जनावर आक्रमणका घटनाहरू पनि दर्ता भएका छन् ।
३० लाखभन्दा बढी आर्थिक क्षति
विपद्का घटनाबाट ठूलो मात्रामा भौतिक तथा आर्थिक क्षति भएको छ । प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा करिब ३० लाख ८६ हजार रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ ।
यस अवधिमा ३० वटा चौपायाको पनि क्षति भएको विवरण छ । उद्धार तथा राहतका लागि देशभर १७७ जना प्रहरी जनशक्ति परिचालन गरिएको थियो ।
वार्षिक तथ्यांक : ७ हजारभन्दा बढी घटना, ४७९ जनाको मृत्यु
२०८२ साल वैशाख १ गतेदेखि चैत ७ गतेसम्मको तथ्यांक अनुसार नेपालमा कुल ७ हजार १४० वटा विपद्का घटना भएका छन् ।
ती घटनामा परी ४७९ जनाको मृत्यु भएको छ भने ३८ जना अझै बेपत्ता छन्। यस अवधिमा १ हजार ८७० जना घाइते भएका छन् ।
एक वर्षमा सबैभन्दा बढी आगलागी
विगत एक वर्षमा आगलागीका ३ हजार ४४३ घटना भएका छन्, जसबाट १०२ जनाको मृत्यु भएको छ ।
त्यसैगरी सर्पदंशका ५९६ घटनाबाट ९८ जनाको मृत्यु, पहिरोका ६०१ घटनाबाट ७४ जनाको मृत्यु, जनावर आक्रमणका ४९५ घटनाबाट ५५ जनाको मृत्यु भएको छ ।
चट्याङका ३९३ घटनाबाट ४७ जनाको मृत्यु भएको छ भने बाढीका ३२० घटनाबाट ३८ जनाको ज्यान गएको छ ।
यस अवधिमा कुल १२ हजार ९९४ परिवार विपद्का घटनाबाट प्रभावित भएका छन् ।