चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा नेपालको वस्तु निर्यात २ खर्ब रुपैयाँ नजिक पुगेको छ । भन्सार विभागका अनुसार साउनदेखि फागुनसम्म १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ बराबरको निर्यात भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.८३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा निर्यात १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ हाराहारीमा सीमित थियो ।
चालु आवमा वनस्पति तेल आयात गरी भारततर्फ पुनः निर्यात हुने व्यापार बढ्दा निर्यातमा उल्लेखनीय सुधार देखिएको हो । नेपालको हालसम्मको उच्चतम वार्षिक निर्यात २ खर्ब ७७ अर्ब रुपैयाँ रहेको छ, जुन गत आवमा कायम भएको कीर्तिमान हो । यस वर्ष हालकै गतिमा निर्यात वृद्धि कायम रहे उक्त कीर्तिमान तोडिने सम्भावना देखिएको छ ।
आठ महिनाको अवधिमा सबैभन्दा बढी योगदान प्राकृतिक तेल तथा घ्यूको रहेको छ । यस शीर्षकअन्तर्गत ८८ अर्ब ८३ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । कफी, चिया तथा मसला १३ अर्ब ३६ करोड रुपैयाँसहित दोस्रो स्थानमा छन् भने धागो तथा रेसा ८ अर्ब ९६ करोड रुपैयाँसहित तेस्रो स्थानमा छन्। कार्पेट तथा कार्पेटजन्य वस्तुको निर्यात ७ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । फागुन महिनामा मात्र २२ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
आयातको वृद्धिदर घट्दो
फागुनमा निर्वाचनको माहोल रहे पनि सो महिनामा १ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यद्यपि, आयातको वृद्धिदर माघको तुलनामा केही घटेको छ ।
फागुन मसान्तसम्म कुल आयात १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.५४ प्रतिशतले बढी हो। माघमा भने आयात वृद्धि १३.६५ प्रतिशत थियो ।
आठ महिनामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ, जसअन्तर्गत २ खर्ब ९ अर्ब ९९ करोड रुपैयाँ विदेशिएको छ । वनस्पति तेल तथा जनावरको बोसो १ खर्ब ८ अर्ब रुपैयाँ, मेसिनरी तथा मेकानिकल उपकरण ९१ अर्ब ९७ करोड रुपैयाँ, फलाम तथा स्टील ८९ अर्ब ७४ करोड रुपैयाँ र विद्युतीय उपकरण ८८ अर्ब २३ करोड रुपैयाँ बराबर आयात भएका छन् ।
त्यस्तै, सवारी साधनमा ७३ अर्ब ४६ करोड, बहुमूल्य धातु तथा सुनमा ५४ अर्ब ८४ करोड र मलमा ४५ अर्ब ८१ करोड रुपैयाँ बराबरको आयात भएको छ ।
वैदेशिक व्यापार घाटा १० खर्ब नाघ्यो
समीक्षा अवधिमा कुल वैदेशिक व्यापार १४ खर्ब ८० अर्ब ३६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.५५ प्रतिशतले बढी हो । यस अवधिमा व्यापार घाटा १० खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ, जुन ११.२२ प्रतिशतले बढी हो ।
आयात–निर्यात अनुपात ६.७५ कायम भएको छ, जुन अघिल्लो वर्षको ७.२४ भन्दा सुधारिएको हो । कुल व्यापारमा आयातको हिस्सा घटेर ८७.०९ प्रतिशतमा झरेको छ भने निर्यातको हिस्सा बढेर १२.९१ प्रतिशत पुगेको छ ।
भारत र चीनसँग उच्च निर्भरता
नेपालको वैदेशिक व्यापार मुख्यतः भारत र चीनमा केन्द्रित रहेको छ । आठ महिनामा भारतबाट ७ खर्ब २४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने नेपालबाट १ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
चीनबाट २ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा नेपालबाट त्यहाँतर्फ ९८ करोड रुपैयाँ बराबर मात्र निर्यात भएको छ ।
तेस्रो ठूलो व्यापार साझेदार अर्जेन्टिना बनेको छ, जहाँबाट ७५ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । त्यसपछि यूएईबाट ४५ अर्ब ७६ करोड र अमेरिकाबाट २० अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । नेपालबाट अमेरिकातर्फ १२ अर्ब ८० करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।
आयातमा डिजेल अगाडि, निर्यातमा सोयाबिन तेल
आठ महिनामा आयात भएका वस्तुमध्ये डिजेल पहिलो स्थानमा रहेको छ, जसको आयात ८२ अर्ब १० करोड रुपैयाँ पुगेको छ । कच्चा सोयाबिन तेल ८१ अर्ब १८ करोड, पेट्रोल ४३ अर्ब ८९ करोड र एलपीजी ग्यास ३७ अर्ब ३१ करोड रुपैयाँ बराबर आयात भएका छन् ।
यसैगरी, स्मार्टफोन २९ अर्ब ९३ करोड र सुन २३ अर्ब ४९ करोड रुपैयाँ बराबर आयात भएको छ ।
निर्याततर्फ सोयाबिन तेल ७५ अर्ब ७७ करोड रुपैयाँसहित पहिलो स्थानमा रहेको छ । अलैँची ९ अर्ब ४९ करोड रुपैयाँसहित दोस्रो र कार्पेट ६ अर्ब ५३ करोड रुपैयाँसहित तेस्रो स्थानमा रहेको छ ।