दुई महिना देखी वेपत्ता सप्तरीकी एक नाबालिकाको सामाजिक सञ्जालमार्फत आइतबार भिडियो सार्वजनिक भएपछि परिवारजनमा खैलाबैला मचिएको छ ।
परिवार, आफन्त तथा प्रहरीले उनको खोजतलास गरिरहेको अवस्थामा सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोले घटनामा नयाँ मोड आएको हो । भिडियोमा रुदै गरेकी नाबालिकालाई केही महिला र पुरुषले हात समाएको देखिन्छ भने एक जना युवाले सिउँदोमा जबरजस्ती सिन्दुर हाल्ने दृश्य फेला परेको छ ।
भीडियोमा देखिएको स्थान ग्रामीण क्षेत्रको भएपनि स्थानको पूर्ण पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । नाबालिकालाई जबरजस्ती सिन्दुर हाल्ने व्यक्तिको पहिचान खुलेको छ । नाबालिकाका बुबाले आइतबार जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय, सप्तरीमा दिएको किटानी जाहेरीमा छोरीलाई जबरजस्ती सिन्दुर हाल्ने व्यक्ति अशोक मण्डल भएको उल्लेख गरेका छन् । उनी डाक्नेश्वरी नगरपालिकाका बासिन्दा हुन् ।
यसअघि, नाबालिकाका बुबाले २०८२ माघ ८ गते छोरी वेपत्ता भएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । उनले भनेका अनुसार छोरीको मोबाइल सोही दिनदेखि स्विच अफ भएको थियो । प्रहरीमा निवेदन दिनका बेला शंकास्पद व्यक्तिको रूपमा अशोक मण्डलको नाम उल्लेख गरिएको थियो । गाउँलेहरूले पनि पछिल्लो भिडियोमा देखिएको व्यक्ति अशोक नै रहेको बताएका छन् ।
प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको र प्राप्त हुलिया विवरणको आधारमा खोजी कार्य तीव्र रुपमा भइरहेको जानकारी दिएका छन् ।
उनले सार्वजनिक भएको भिडियोको अनुसन्धान पनि भइरहेको बताएका छन् ।