पश्चिम एसियामा जारी युद्धका कारण कच्चा पदार्थ आयात प्रभावित हुँदा बुटवल औद्योगिक क्षेत्रभित्रका उद्योगहरू समस्यामा परेका छन् । उद्योगीहरूका अनुसार कच्चा पदार्थ अभावसँगै लागत वृद्धि हुँदा उत्पादनसमेत प्रभावित हुन थालेको छ ।
बुटवल औद्योगिक क्षेत्रस्थित लिटमस्ट केवल उद्योगले दुबईबाट तामाको कभर र भारतबाट प्लास्टिकजन्य कच्चा पदार्थ आयात गरी केबल उत्पादन गर्दै आएको छ । तर हाल युद्धका कारण दुबईबाट कच्चा पदार्थ आयात रोकिएको छ भने भारतबाट आउने सामग्रीको मूल्यसमेत उल्लेख्य रूपमा बढेको छ।
उद्योगका व्यवस्थापक भुवन गिरीका अनुसार इन्धनको मूल्यवृद्धिका कारण ढुवानी खर्च बढ्दा उत्पादन लागतमा ठूलो असर परेको छ । ‘भारतबाट ल्याइने प्लास्टिकजन्य कच्चा पदार्थको लागत ४० प्रतिशतभन्दा बढी बढेको छ,’ उनले बताए ।
यस उद्योगलाई वार्षिक करिब १० हजार टन कच्चा पदार्थ आवश्यक पर्ने भए पनि हाल उपलब्धता अनिश्चित बन्दै गएको छ । उद्योग सञ्चालन कसरी निरन्तर राख्ने भन्ने विषयमा अन्योल बढेको गिरीको भनाइ छ ।
त्यस्तै, आलम प्लास्टिक उद्योग र युनाइटेड इन्डस्ट्रीका सञ्चालक एजाज आलमले एक टन प्लास्टिक कच्चा पदार्थ आयात गर्दा ७ सय डलरभन्दा बढी खर्च लाग्न थालेको बताए । कच्चा पदार्थ सकिए उत्पादन बन्द गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।
रुपन्देहीको तिलोत्तमा–१७ स्थित कोहिनुर प्लास्टिक इन्डस्ट्रिजका सञ्चालक सुमन बस्यालले पनि युद्धका कारण कच्चा पदार्थ महँगो र अनिश्चित बनेको बताए। हेलमेट उत्पादनका लागि आवश्यक प्लास्टिक दानाको मूल्य वृद्धि हुँदा उत्पादन लागत बढिरहेको उनले जनाए ।
बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका व्यवस्थापक दीपक आचार्यका अनुसार पश्चिम एसिया युद्धले नेपाली उद्योगहरूको उत्पादनमा प्रत्यक्ष असर पारेको छ । विशेषगरी प्लास्टिकजन्य कच्चा पदार्थमा भारी मूल्यवृद्धि भएको उनले बताए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवल औद्योगिक क्षेत्रसँगै भैरहवा–परासी औद्योगिक करिडोरका उद्योगहरूमा कच्चा पदार्थ अभाव देखिन थालेको जानकारी दिए । कच्चा पदार्थ महँगो हुँदा उत्पादन लागत बढ्ने र अभाव भए उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी उद्धव ढुंगानाका अनुसार युद्धअघि पठाइएका कच्चा पदार्थ अहिले आइरहेका भए पनि आगामी दिनमा आयात घट्ने सम्भावना छ ।
उद्योगीहरूले कच्चा पदार्थको मूल्य ३० प्रतिशतभन्दा बढी बढेको दाबी गरेका छन् । लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्षसमेत रहेका एजाज आलमका अनुसार पहिले ९०० डलरमा पाइने कच्चा पदार्थको मूल्य अहिले १६०० डलरभन्दा बढी पुगेको छ ।
बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष उपेन्द्र अग्रवालले प्लास्टिकजन्य उद्योग सबैभन्दा बढी प्रभावित भएको बताए। वर्तमान अवस्था लामो समयसम्म रहिरहे धेरै उद्योग बन्द हुने जोखिम रहेको उनको चेतावनी छ ।
आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका अध्यक्ष होमराज भुसालले कच्चा पदार्थ आयातमा समस्या आएपछि बजारमा मूल्यवृद्धि हुनु स्वाभाविक भएको बताए ।