कृषि तथा पशुपन्छी तथा वन तथा वातावरणमन्त्रीमा गीता चौधरी नियुक्त भएकी छन् ।
नवनियुक्त मन्त्री चौधरीले आज (शुक्रबार) राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिमण्डल विस्तारका क्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयलाई गाभेर एउटै मन्त्रालय बनाइएको हो ।
कञ्चनपुरकी ३३ वर्षीया चौधरी फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ सांसद निर्वाचित भएकी थिइन् । कानुनमा स्नातकोत्तर चौधरीले अधिवक्ताका रूपमा घरजग्गा विवाद, घरेलु हिंसा लगायतका मुद्दामा वकालत गर्दै अनुभव बटुलेकी छिन् ।
वि.सं. २०६२–०६३ को जनआन्दोलनपछि राजनीतिमा प्रवेश गरेकी चौधरी सुरुमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध थिइन् । पछि उनले एमाले छोडेर २०७९ को प्रदेशसभा निर्वाचनमा तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट कञ्चनपुर क्षेत्र नं. २(१) मा उम्मेदवारी दिएकी थिइन्, तर पराजित भएकी थिइन् । त्यसपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएकी हुन् ।