पैतृक सम्पत्ति बेचेर बचत गरेको करीब ११ करोड रुपैयाँ सहकारीमा डुबेपछि भक्तपुरका ७० वर्षीय एमबहादुर विष्टको आर्थिक आधार मात्र नभई परिवार नै छिन्नभिन्न भएको छ ।
शान्तिवाटिकामा सहकारी पीडितहरूको रिले अनशनमा सहभागी विष्टले आफ्नो सम्पूर्ण बचत गुडविल बचत तथा ऋण सहकारी संस्थामा राखेका थिए। उच्च ब्याजको लोभमा राखेको उक्त रकम सहकारी डुब्नासाथ उनी ठूलो आर्थिक संकटमा परेका छन् ।
विष्टले झापाको तीन बिघा जग्गा बेचेर आएको ८ करोड रुपैयाँ गुडविल सहकारीमा १८ प्रतिशत ब्याजदरमा राखेका थिए। तर, सहकारीको सञ्चालक दिवाकर श्रेष्ठले पैसा फिर्ता नगरेपछि विष्टसहित ५६० बचतकर्ताको ७९ करोड ८९ लाख रुपैयाँ ठगी प्रकरणमा श्रेष्ठ पक्राउ परेका छन् । यो आर्थिक संकटले विष्टको परिवारलाई समेत असर गरेको छ। उनका छोराछोरी र श्रीमतीसँग सम्पर्क विहीन भएको र श्रीमतीले समेत उनको खोजखबर नराख्ने गरेको विष्टले बताए ।
करोडौं रकम डुबेपछि हरेश खाएका विष्टले एकपटक आत्मदाह प्रयास गरे पनि अन्य सहकारी पीडितहरूले उनलाई रोकेका थिए। सहकारी पीडितहरूको ‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान’को रिले अनशन ७४ दिनदेखि जारी छ ।
सरकारले दुई पटक सहमति गरे पनि कार्यान्वयन नभएको पीडितहरूको गुनासो छ। उनीहरू माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताउँछन् । – हिमालखबरबाट साभार गरिएकाे