चाडपर्वसँगै जाडोयाम सुरु भएपछि बजारमा अण्डाको माग बढ्न थालेसँगै अण्डाको थोक मूल्य वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गर्दै प्रतिपेटी १०० देखि २०० रुपैयाँसम्म बढाएको हो । तर, उपभोक्ताले खरिद गर्ने खुद्रा मूल्य भने यथावत् राखिएको छ ।
सङ्घले गत कात्तिक ६ गते काठमाडौंमा बसेको बैठकबाट निर्धारण गरेको मूल्य छ दिनपछि नै परिमार्जन गरेको हो । बिहीबार पोखरामा बसेको बैठकले अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए ।
नयाँ मूल्यअनुसार एक्सएल, ठूलो र मिडियम अण्डाको समर्थन मूल्य प्रतिपेटी २०० रुपैयाँले बढाइएको छ भने सानो अण्डाको मूल्य प्रतिपेटी १०० रुपैयाँ वृद्धि गरिएको छ ।
अध्यक्ष पोखरेलका अनुसार १४.५ देखि १४.८ किलो तौल भएको एक्सएल अण्डाको मूल्य प्रतिपेटी ३ हजार ७०० रुपैयाँबाट बढाएर ३ हजार ९०० रुपैयाँ पुर्याइएको छ ।
त्यस्तै, १३.५ देखि १३.८ किलो तौल भएको ठूलो अण्डाको मूल्य ३ हजार ६०० रुपैयाँबाट बढाएर ३ हजार ८०० रुपैयाँ र १२.५ देखि १२.८ किलो तौल भएको मिडियम अण्डाको मूल्य ३ हजार ५०० रुपैयाँबाट बढाएर ३ हजार ७०० रुपैयाँ कायम गरिएको छ ।
यसैगरी, ११ किलोभन्दा बढी तौल भएको सानो अण्डाको मूल्य प्रतिपेटी ३ हजार १०० रुपैयाँबाट बढाएर ३ हजार २०० रुपैयाँ पुर्याइएको छ ।
थोक तथा फार्म मूल्य बढाइए पनि उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन । हाल ठूलो अण्डाको खुद्रा मूल्य प्रतिगोटा २५ रुपैयाँ र मिडियम अण्डाको मूल्य दुई गोटाको ४५ रुपैयाँ कायम गरिएको अध्यक्ष पोखरेलले बताए ।
चाडपर्वसँगै चिसो मौसम सुरु भएपछि बजारमा अण्डाको खपत बढेकाले थोक मूल्य समायोजन गरिएको सङ्घले जनाएको छ ।