चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा भएको दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन अनुसार सिमलताल–बाङ्गेसाल–डुम्रेगाउँ सडक बनाउँदा कमजोरीका कारण दुईवटा डिलक्स बस त्रिशूलीमा खसेका हुन्। कमजोर भूगोल, अत्यधिक क्रस स्लोप, र इन्जिनियरिङ डिजाइन बिनाको सडक बनाउँदा बर्सातमा दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ ।
असार ३१ मा गठित कार्यदलले सडक डिभिजन भरतपुरले डेब्रिज सफा गर्दा ध्यान नदिएको, कल्भर्ट र क्याचपिट नियमित सफा नगरेको र सडक सुरक्षासम्बन्धी एकीकृत सूचना प्रणालीको विकास नहुँदा दुर्घटना भएको निष्कर्ष निकालेको छ ।
असार २८ मा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस त्रिशूलीमा खसेका थिए। ४० जना यात्रु बेपत्ता छन्, भने २५ जनाको शव भेटिएको छ ।