“पञ्च परिवर्तन राष्ट्र निर्माणको आधार” भन्ने मूल नाराका साथ वीरगंजमा हिन्दू सम्मेलन सम्पन्न भएको छ ।
विश्व हिन्दू परिषद् नेपाल, वीरगंज महानगर कमिटीको आयोजनामा शनिबार माइस्थान मन्दिरको प्राङ्गणमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमका विशिष्ट अतिथि तथा विश्व ज्योतिष सम्राट डा. पुरुषोत्तम दुवेले विद्यालय तहबाट नैतिक शिक्षा हटाइएकाले समाजमा विकृति बढ्दै गएको बताएका छन् ।
उनका अनुसार “नैतिक शिक्षाको अभावमा पञ्च परिवर्तनका मुख्य सूचकहरू सामाजिक समरसता, कुटुम्ब प्रबोधन, वातावरण, स्वदेशी र नागरिक कर्तव्य नयाँ पुस्ताले सिक्न नपाएको” बताए । उनले व्यक्तिले पहिले आफैंले नैतिक आचरण पालना गर्नुपर्ने र त्यसको प्रभाव भावी पुस्तामा पर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा हिन्दू राष्ट्र स्वाभिमान जागरण पर्साका सदस्य धनन्जय मिश्रले हिन्दू धर्मको उदारता र सहिष्णुताबारे चर्चा गरे । उनले हिन्दूहरूले गीतासँगै अन्य धर्मग्रन्थको पनि सम्मान गर्ने परम्परा रहेको बताए ।
उनका अनुसार हिन्दूहरू मन्दिर मात्र नभई मस्जिद, गुरुद्वारा र गुम्बासमेत जाने संस्कार बोकेका छन् । “संसारका कुनै पनि धर्मले यस्तो उदारता सिकाउँदैन, त्यसैले हाम्रो धर्म संसारकै उत्कृष्ट धर्म हो,” उनले दाबी गरे । कार्यक्रममा वीरगंजका उद्योगी, व्यवसायी, शिक्षाप्रेमी, सञ्चारकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
सहभागीहरूले राष्ट्र निर्माणका लागि आध्यात्मिक र नैतिक जागरण अपरिहार्य रहेकोमा ऐक्यबद्धता जनाएका थिए ।