पोखरामा विदेशीसहित ट्रान्सपार्टी आयोजना गरेको आरोपमा १२ जना पक्राउ परेका छन् ।
कास्की प्रहरीले अवैध ट्रान्सपार्टी भइरहेको सूचना पाएपछि पोखरा १८ मा बमेन्द्र पुनले भाडामा लिएको घरमा पार्टी सञ्चालन भइरहेको छापा मारेर नियन्त्रणमा लिएको हो । अनुसन्धानबाट पार्टी स्थानीय कृष्ण पराजुलीको पुरानो घर भाडामा लिएर सञ्चालन गरिएको खुलेको छ ।
प्रहरीका अनुसार मध्यरातमा छापा मार्दा घटनास्थलबाट ९ प्रकारका लागुऔषध बरामद भएको छ भने विदेशीसहित १२ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकामध्ये ८ जनालाई लागुऔषध र ४ जनालाई अभद्र व्यवहारको मुद्दा चलाइएको छ ।
बरामद लागुऔषधमा एमडीएमए, चरेश, कोकिन, खात, आइस/एम्फेटामाइन, पोल्यान, म्याजिक मसरुम, पेपर एलएसडी, झोल एलएसडी समावेश छन् ।
पक्राउ परेकामध्ये विदेशी नागरिकमा भारतकी ३१ वर्षीय सृष्टि चन्द, ३५ वर्षका अनुभव शर्मा र ब्राजिलका ४८ वर्षीय चार्ल्स गुवाईवा रहेका छन् ।
स्थानीय नागरिकमध्ये पोखरा ६ का ३२ वर्षीय बमेन्द्र पुन, २७ वर्षीय विशाल परियार, पोखरा ५ का २५ वर्षीय आशीष दर्जी, दाङका २९ वर्षीय सौरभ महरा, काठमाडौँका २१ वर्षीय निकुञ्ज कार्की, ३१ वर्षीय सक्षम कोइराला, रोशन अधिकारी, २८ वर्षीय विवेक परियार र २६ वर्षीय लोक बहादुर घर्ती मगर पक्राउ परेका छन् ।
प्रहरीले पक्राउ परेकालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले विदेशी नागरिकसमेत संलग्न भई लागुऔषधसहित पार्टी सञ्चालन हुनु गम्भीर घटना भएको बताएको छ । उक्त पार्टी भारतीय अनुभव शर्मा र नेपालका बमेन्द्र पुनले आयोजना गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।