पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानुले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेस प्रदेशका सांसदहरूसँग भएको भेटघाटका क्रममा विभिन्न समस्याहरूकाे विषय उठाएका छन ।
प्रधानमन्त्री बालेन साहसँग भेटघाटकाे क्रममा सांसद कानुले पर्सा जिल्लाको समग्र विकास, सेवा प्रवाह र जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरू उठाएका छन ।
भेटका क्रममा उनले विशेषगरी एकटाङ्गा पुल निर्माणमा भएको ढिलाइका कारण सर्वसाधारणले भोग्नुपरेको समस्या, नारायणी अस्पतालमा सक्रिय दलाल तथा बिचौलियाको प्रभाव, सुख्खामा हुने खानेपानी अभावका कारण स्थानीयवासीले झेल्नुपरेको कठिनाइ लगायतका विषयमा गम्भीर चासो व्यक्त गरेका थिए ।
त्यस्तै, पर्सा जिल्लाका विभिन्न स्थानीय तहमा अन्य विभिन्न क्षेत्रबाट अाएर प्रशासकीय अधिकृत हुने र विभिन्न सेवा, सुशासनमा तथा अस्थिर व्यवस्थापनका कारण सेवा प्रवाहमा समस्या देखिएको विषय पनि उनले प्रधानमन्त्रीसमक्ष राखेका थिए । ग्रामीण भेगका स्वास्थ्य चौकीहरूमा अत्यावश्यक ९६ प्रकारका औषधि उपलब्ध नभएकाले जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै तत्काल समाधानका लागि पहल गर्न उनले आग्रह गरेका थिए ।
सांसद कानुले जिल्लाको समग्र विकासका लागि पूर्वाधार निर्माण, स्वास्थ्य सेवा सुदृढीकरण, सुशासन कायम गर्ने र स्थानीय तहमा प्रभावकारी प्रशासनिक व्यवस्था सुनिश्चित गर्न संघीय सरकारको ध्यान आवश्यक हुनुपर्ने बताएका थिए ।
समस्याहरू ध्यानपूर्वक सुनेपछि प्रधानमन्त्री बालेन साहले यस्ता मुद्दाहरूलाई प्राथमिकतामा राख्दै चरणबद्ध रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सम्बन्धित निकायहरूसँग समन्वय गरेर तत्काल आवश्यक पहल सुरु गरिने र दीर्घकालीन समाधानका लागि योजना तयार पारिने जानकारी दिए ।
मधेस प्रदेशका सांसदहरूकाे भेटघाटले मधेशका जिल्लाको विकास र सेवा सुधारका लागि महत्वपूर्ण पहलका हुने अपेक्षा गरिएको छ ।