नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ५६ दिनका लागि ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा थुप्रिएको अतिरिक्त तरलता नियन्त्रण तथा ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न लागेको जनाएको छ । केन्द्रीय बैंकले यसअघि पनि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता व्यवस्थापन गर्दै आएको छ।
यस बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । निक्षेप संकलनका लागि अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गरिनेछ भने ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुनेछ।
दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा सहभागी संस्थाहरूले प्रस्ताव गरेको ब्याजदरका आधारमा सबैभन्दा कम दर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा राख्दै आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।
यस निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी २०८३ वैशाख २७ गते हुनेछ । बोलकबोलमा सहभागी हुन न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी रकम प्रस्ताव गर्न सकिने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापन गर्न संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिनासम्मका लागि दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिन्छ । सोही व्यवस्थाअनुसार राष्ट्र बैंकले पछिल्ला दिनहरूमा पटकपटक यस्ता उपकरण प्रयोग गर्दै आएको छ ।