सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्ने भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।
उनका अनुसार, सो निर्णयको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
मन्त्री रावलले भनिन्, “पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको छ ।”
उनीँले पेट्रोलियम पदार्थको मूल्य समायोजन आवश्यक रहेको पनि बताइन्। उनले भनिन्, “मूल्य समायोजनको बाध्यता छ । सरकारले यो तथ्य लुकाउँदैन, पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यवहारिक देखिएको छ ।”