पर्साको वीरगंज महानगर क्षेत्रमा आयोजित छुट्टाछुट्टै तीन वटा रक्तदान कार्यक्रममा कुल १३२ जनाले रक्तदान गरेका छन् ।
विभिन्न सामाजिक तथा धार्मिक संस्थाको सक्रियतामा सम्पन्न कार्यक्रमहरूले समुदायमा मानवसेवाको भावना अझ सुदृढ बनाएको छ ।
दुर्गा पूजा समिति, रानीघाटद्वारा आयोजित २६औँ खुला रक्तदान कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियो । कार्यक्रममा ५८ जना पुरुष र ४ जना महिला गरी ६२ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा सलोनी चौधरी, करण साह, मुकेश ठाकुर, कौशल्यादेवी राय, विष्णुकुमार रौनियार, राकेशकुमार बर्णवाल, वसन्तकुमार रौनियारलगायतका स्थानीय युवाहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए । आयोजक समितिले धार्मिक पर्वको अवसर पारेर सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
त्यसैगरी, नारायणी अस्पताल परिसरमा युवा जागरूक समाज, नेपालद्वारा आयोजित अर्को रक्तदान कार्यक्रममा २५ जना पुरुष र ७ जना महिला गरी ३२ जनाले रक्तदान गरेका थिए । अस्पतालमा बिरामीहरूको लागि रगतको अभाव नहोस् भन्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
यस्तै, सशस्त्र प्रहरी बल नम्बर १३ गण, वीरगंजमा आयोजित रक्तदान कार्यक्रममा ३८ जनाले सहभागिता जनाएका थिए । सुरक्षा निकायको पहलमा गरिएको कार्यक्रममा राष्ट्रसेवामा समर्पित सुरक्षाकर्मीहरूले पनि मानवसेवामा अग्रसरता देखाएका छन् ।
हालैका दिनहरूमा अस्पतालहरूमा रगतको अभाव देखिँदै आएको अवस्थामा यस्ता कार्यक्रमहरूले धेरै बिरामीको जीवन बचाउन सहयोग पुग्ने विश्वास गरिएको छ । चिकित्सकहरूले नियमित रूपमा रक्तदान गर्न आग्रह गर्दै स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न सक्ने जानकारी दिएका छन् ।
समाजमा बढ्दो जनचेतना र युवाहरूको सक्रिय सहभागिताले वीरगञ्जमा रक्तदान अभियान प्रभावकारी बन्दै गएको देखिएको छ ।